नयाँदिल्ली। भारतको मध्य प्रदेश राज्यअन्तर्गत खाण्डवा जिल्लामा बिहीबार साँझ दुर्गा मूर्ति विसर्जन र्यालीका क्रममा ट्र्याक्टर–ट्रली दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ।
अधिकारीका अनुसार अर्दला र जामली गाउँका करिब २०–२५ जना भक्तजन विसर्जनका लागि ट्र्याक्टर–ट्रलीमा सवार थिए। तर स्थानीय कोटवार (गाउँ चौकीदार) ले रोक्न चेतावनी दिए पनि ट्र्याक्टरलाई गहिरो पानीतर्फ चलाइएको थियो। सो क्रममा सन्तुलन गुम्दा ट्रली पल्टिएर पोखरीमा खस्दा यात्रुहरू डुबेका थिए।
उद्धार टोलीले तत्कालै १० जनाको शव फेला पारेको थियो भने हराइरहेकी एक किशोरीको शव राति अबेर भेटिएपछि मृतक संख्या ११ पुगेको हो।