दसैँको रमाइलो र टिकाको उत्साहबीच नेपाली राष्ट्रिय फुटबल टोलीका खेलाडीहरू सातदोबाटोस्थित एन्फा कम्प्लेक्स फर्केर अभ्यास सुरु गरेका छन्। १४ अक्टोबरमा भियतनामसँगको एएफसी एसियन कप २०२७ छनोट खेल नेपाली टोलीका लागि एक महत्त्वपूर्ण परीक्षा हो।
सुरुमा नेपालको घरेलु मैदान दशरथ रंगशाला ‘होम गेम’का लागि छनोट भएको थियो। तर, त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको मैदान अयोग्य ठहरिएपछि अवसर गुमाउनुपरेको थियो। यसको सट्टा एसियाली फुटबल महासंघ (एएफसी)ले नेपाललाई थों न्हाट रंगशालामा ‘होम’ खेल खेल्न अनुमति दिएको छ। यसअघि ९ अक्टोबरमा ‘अवे’ खेल बिन दुंग रंगशालामा हुनेछ।
१६ असोजमा दसैँको टिका परेको थियो। धेरै खेलाडीलाई पारिवारिक कार्यक्रममा व्यस्त बनाउने समय यही थियो। तर, खेलाडीहरूले राष्ट्रिय जिम्मेवारीलाई प्राथमिकता दिँदै त्यसको भोलिपल्टै प्रशिक्षणमा फर्किएका छन्।
बंगलादेश प्रिमियर लिग (बीपीएल) खेल्न गएका खेलाडीहरू पनि टोलीमा फर्किएका छन्। कप्तान किरणकुमार चेम्जोङसहित आठ खेलाडी प्रशिक्षणमा सहभागी छन्। किरण र विंगर आयुष घलान बंगलादेश पुलिस क्लबबाट फर्केका छन्। डिफेन्डर एरिक विष्ट, सनीश श्रेष्ठ, अभिषेक लिम्बू, अनन्त तामाङ, फरवार्ड अञ्जन विष्ट, मिडफिल्डर योगेश गुरुङलगायतका खेलाडी पनि आफ्नो अन्तर्राष्ट्रिय क्लबको अनुभव लिएर राष्ट्रिय टोलीसँग जोडिएका छन्।