१७ आश्विन २०८२
अ+
अ-

काठमाडौँ। जल तथा मौसम विभाग अन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले आज देशका विभिन्न जिल्ला भइ बहने खोला तथा नदीमा आकस्मिक बाढीको जोखिम रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ ।

महाशाखाले बुलेटिन जारी गर्दै देशका विभिन्न जिल्ला भइ बहने केही सानाठूला नदीमा अबका तीन दिन पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको भन्दै ती नदीतटीय क्षेत्रमा सतर्कता अपनाउन भनेको हो ।

महाशाखाका अनुसार बिहीबार बिहानको मापनमा कोसी, नारायणी, बागमती, कर्णाली, महाकाली तथा तिनका सहायक नदीहरू सहित कन्काई, कमला, पूर्वी राप्ती, बबई र पश्चिम राप्ती नदीहरूको बहाव हाल सतर्कता तहभन्दा तल भए पनि क्रमशः बढ्ने सम्भावना रहेको छ।

त्यसैगरी ताप्लेजुङ, संखुवासभा, दोलखा, सिन्धुपाल्चोक, रसुवा, म्याग्दी, बाग्लुङ, मनाङ, गोरखा, लमजुङ, पाल्पा, सुर्खेत, बर्दिया र आसपासका जिल्लामा बग्ने स–साना नदीहरूको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम स्तरको जोखिम रहने महाशाखाले जनाएको छ।

यस्तै इलाम, झापा, रामेछाप, काभ्रेपलाञ्चोक, सोलुखुम्बु, खोटाङ, धादिङ, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, नवलपरासी (पूर्व र पश्चिम), कास्की, तनहुँ, स्याङजा, पर्वत, गुल्मी, रोल्पा, प्युठान, सल्यान, दैलेख, कालिकोट, बझाङ, दार्चुला, कञ्चनपुर तथा आसपासका जिल्लामा बहने स–साना नदीहरूको जलस्तर पनि बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम हुने सम्भावना रहेको चेतावनी दिइएको छ।