१८ आश्विन २०८२
अ+
अ-

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले विगतको कमजोरीबाट पाठ सिक्दै यसपटकको विपद्मा मानवीय क्षति नहुनेगरी पूर्वतयारी र प्रतिकार्यको काम भइरहेको बताएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा आज आयोजित पत्रकार भेटघाटमा उनले यसपटक मानवीय क्षति शून्य नै होस् भन्ने उद्देश्यका काम भइरहेको बताए।

गृहमन्त्री अर्यालले मानवीय क्षति शून्यमा झार्ने सरकारको योजनामा कुनै कमिकमजोरी नहोस् भनेर निर्देशन दिइएको पनि बताए । विपद्का समयमा गतल फाइदा उठाउन खोज्ने प्रवृत्तिविरुद्ध सरकार कठोर ढङ्गबाट प्रस्तुत हुने स्पष्ट पार्दै उनले भने, “सङ्कटका बेला जसले नाजायज अवसर देखिरहेको छ, त्यसविरुद्ध निगरानी र नियन्त्रण गरिनेछ ।”

सङ्कटका बेला सुशासनको महत्त्व बढी हुने उल्लेख गर्दै गृहमन्त्री अर्यालले सरकारको निर्देशनलाई मातहतका निकायले कडाईका साथ कार्यन्वयन गर्नुपर्ने बताए ।

“सानोभन्दा सानो कमजोरीले नयाँ परिस्थितिको जन्म हुनसक्छ, हाल राजनीतिक परिस्थिति पनि जटिल छ”, उनले भने, “व्यापक असन्तुष्टि छ, यहीबीचमा सरकार, संयन्त्र र कर्मचारीको कमिकमजोरीले नाजायज काम भए राज्यप्रतिको असन्तुष्टि नयाँ चरणमा प्रवेश गर्छ । त्यसैले सबै सतर्क रहन आवश्यक छ ।”