१८ आश्विन २०८२
अ+
अ-

काठमाडौं। बाढीका कारण समस्यामा परेका विद्यालयमा आश्रय लिइरहेका मानिसहरूका लागि काठमाडौं महानगरपालिकाले खाद्यान्नको व्यवस्था गरेको छ। हाललाई महानगर प्रहरीमार्फत सुख्खा खानेकुराको व्यवस्था गरिएको छ भने महानगरपालिकाको शिक्षा विभागले सबै विद्यालयलाई आवश्यक थप व्यवस्था गर्न निर्देशन दिएको छ।

अविरल वर्षाका कारण बाढी र डुबानको जोखिममा परेका बस्ती, त्यहाँका बासिन्दा र भौतिक सम्पत्ति जोगाउन जनशक्ति, स्रोत, साधन र उपकरण परिचालन गरिएको छ।जोखिममा रहेका परिवारका लागि महानगरपालिकाभित्रका करिब ७० वटा सामुदायिक विद्यालयलाई तत्काल आश्रयस्थलका रूपमा प्रयोग गर्न व्यवस्था मिलाइएको छ।

तीमध्ये ४ वटा विद्यालयमा जोखिममा रहेका परिवारलाई स्थानान्तरण गरी राखिएको छ। जसमम विश्व निकेतन माध्यमिक विद्यालय, त्रिपुरेश्वरमा ७० जना, गुह्येश्वरी माध्यमिक विद्यालय, थापाथलीमा ५२ जना, जन विकास माध्यमिक विद्यालय कुलेश्वरमा ५२ परिवारका २५१ जना र महेन्द्र सरस्वती आधारभूत विद्यालय, टेकुमा २० जना विस्थापितलाई आश्रय दिइएको छ।

महानगरले बाढीका कारण समस्यामा परेका व्यक्तिहरूले सम्पर्क गरेमा महानगरपालिकाले उद्धार गरी सुरक्षित स्थानमा पुर्‍याउने व्यवस्था गर्ने जनाएको छ ।

विद्यालयमा आश्रयसहित खाना, शौचालय, पानीलगायत आधारभूत सुविधाहरू महानगरपालिकाले उपलब्ध गराइरहेको छ। महानगरपालिकाका अधिकारीहरू जोखिमयुक्त क्षेत्रमा नियमित रूपमा खटिएका छन्।