काठमाडौँ। चलचित्र ‘अभिमन्यु : च्याप्टर १’को प्रदर्शन मिति पुनः सरेको छ। अविरल वर्षापछिको अवस्थालाई मध्यनजर गर्दै निर्माण टिमले प्रदर्शन मिति हेरफेर गरेको हो।
यसअघि असोज २४ गते प्रदर्शनमा आउने घोषणा गरिएको यो चलचित्र अब कार्तिक २१ गतेबाट दर्शकमाझ आउने भएको छ।
चलचित्रका निर्माता विनोद पौडेलले आफ्नो सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नयाँ प्रदर्शन मितिको जानकारी दिएका हुन्। दर्शकको सहज पहुँच र सुरक्षित माहोलमा चलचित्र प्रदर्शन गर्न सकियोस् भन्ने उद्देश्यले यो निर्णय लिइएको निर्माता पौडेलको भनाइ छ।
उनले प्रतिकूल परिस्थितिमा दर्शकको साथ र सहयोगको अपेक्षा समेत गरेका छन्। ‘अभिमन्यु’ नेपाली र हिन्दी दुवै भाषामा एकसाथ नेपालभरका सिनेमा घरहरूमा प्रदर्शन गर्ने तयारी छ। साथै, भारत र विश्वका विभिन्न देशहरूमा समेत कार्तिक २१ गतेदेखि नै यसको विश्वव्यापी प्रदर्शन हुने निर्माण पक्षले बताएको छ।
यसले चलचित्रलाई बृहत् दर्शकमाझ पुर्याउन मद्दत पुग्ने विश्वास गरिएको छ। सेभेन सिज सिनेमाको ब्यानरमा निर्माण भएको यस फिल्ममा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल र शिशिर वाङ्देल मुख्य भूमिकामा छन्। सुशान्त गौतमले निर्देशन गरेको फिल्ममा मदन थापा क्रिएटिभ निर्देशक र पटकथा मुकेश खनालका रूपमा रहेका छन्। विनोद पौडेल र गुञ्जन गिरी फिल्मका निर्माता हुन्। रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता रहेको फिल्ममा कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ रहेका छन् भने लाइन प्रोड्युसरमा जीवन शाक्य छन्।
शरद महतोको डिओपी रहेको अभिमन्युमा मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको रंग संयोजन, मदन घिमिरेको सम्पादन छ। यस अघि पनि फिल्मको मिति सारिएको थियो।
असोज २४ मा सार्वजनिक मिति तोकिनुअघि अभिमन्यू दसैँको फूलपातीमा सार्वजनिक हुने भनिएको थियो।