काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१९ आश्विन २०८२
अ+
अ-

काठमाडौं। टी–२० आई शृंखलामा नेपालले दोस्रो हार बेहोरेको छ। आइतबार सम्पन्न तेस्रो खेलमा घरेलु टोली मलेसियाले नेपाललाई १३ रनले पराजित गरेको हो।

योसँगै पाँच खेलको शृंखलामा नेपाल २–१ ले पछि परेको छ। पहिलो खेलमा मलेसियाले तीन रनको रोमाञ्चक जित हात पारेको थियो। दोस्रो खेलमा भने नेपालले ६ विकेटको सानदार जित हात पार्दै शृंखला १–१ को बराबरीमा ल्याएको थियो।

शृंखलामा अग्रता बनाउने अवसर रहेको खेलमा मलेसियाले नेपाललाई १२१ रनको सामान्य लक्ष्य दिएको थियो। तर, नेपालले आठ विकेट गुमाउँदै १०७ रन मात्र बनाउन सक्यो।

नेपालकी ओपनर रुबी पोद्दारले सर्वाधिक ३१ रन बनाइन्। ३७ बल खेलेकी उनले दुई चौका प्रहार गरिन्। उनी र अर्की ओपनर सम्झना खड्काबीच पहिलो विकेटका लागि ४१ रनको साझेदारी भएको थियो।

सम्झनाले २५ बलमा एक चौकासहित १८ रन बनाइन्। त्यसपछि आएका कविता कुँवरले १५ र उपकप्तान पूजा महतोले पाँच रनको योगदान दिइन्।

लगातार विकेट खसेपछि कप्तान इन्दु बर्माले इनिङ्स सम्हाल्ने प्रयास गरेकी थिइन्। तर, २० बलमा एक चौकासहित २२ रन प्रहार गरेपछि नेपाल धरासायी बनेको हो।

रुविना क्षेत्री शून्य, कविता कुँवर ६, योशोदा विष्ट सात र सोमु विष्ट तीन रनमा पेभिलियन फर्किइन्। मलेसियाका नुर दानिया र एलिसा फिरदौजले समान एक विकेट लिइन्।

त्यसअघि क्वालालम्पुरस्थित वायुमास क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ थालेको मलेसियाले ओपनर आइन्ना हमिजाह हाशिमको अर्धशतकसँगै निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै १२० रन बनाएको थियो।

हाशिमले ५८ बलमा पाँच चौकासहित ६१ रन प्रहार गरिन्। मास एलिसाले ३७ बलमा एक चौकासहित ३० रन बनाइन्। वान जुलिया १६ रनमा आउट हुँदा माहिराह इज्जाती इस्माइल चार रनमा अविजित रहिन्।

नेपालका कविता कुँवर र कविता जोशीले समान दुई विकेट लिइन्।