काठमाडौँ। अविरल वर्षाकाकारण बाढी र पहिरोबाट १० जिल्लामा ६० जनाको मृत्युु भएको छ।
सशस्त्र प्रहरी बलको प्रधानकार्यालय हलचोकले दिएको जानकारी अनुसार बाढी पहिरोमा परि ज्यान गुमाउनेको संख्या ६० पुगेको हो।
इलाममा सबैभन्दा बढी ३७ जनाको ज्यान गएको छ। इलाममा मृत्यु भएकामध्ये १३ जना पुरुष, १४ जना महिला र १० जना नाबालक रहेका छन्।
त्यस्तै पाँचथरमा ८ जना, उदयपुरमा ३ जना, खोटाङमा २ जना, सुनसरीमा १ जना, रौतहटमा ३ जना, मोरङ, महोत्तरी, सिन्धुपाल्चोक र सिन्धुलीमा १–१ जनाको मृत्यु भएको हो।
कुल मृतकमध्ये १९ जना पुरुष, २६ जना महिला र १५ जना नाबालक छन्।
बाढी, पहिरो तथा डुवान क्षेत्रमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहितका उद्धार टोली परिचालन भएका छन्।
बाढीपहिरोका कारण सडक, पुल, विद्युत् तथा सञ्चार संरचनामा पनि क्षति पुगेको छ। पहिरोका कारण अवरुद्ध सडक सञ्जाल सुचारू हुन थालेका छन्।
