२० आश्विन २०८२
फाइल फोटो
अ+
अ-

काठमाडौं। अविरल वर्षाका कारण मुग्लिन-नारायणगढ सडकबाहेक अधिकांश सडकहरू पूर्णरूपमा बन्द भएका छन्।

शनिबार र आइतबारको अविरल वर्षाका कारण देशका विभिन्न स्थानका १७ वटा सडक अवरुद्ध भएको सडक विभागले जनाएको छ। सोमबार बिहानसम्म दुई वटा राजमार्ग भने एकतर्फी सञ्चालनमा आएका छन्।

संखुवासभा भोटखोला गाउँपालिका-४ बरूणखोलास्थित कोशक्की राजमार्ग, मकालु गाउँपालिका-३ एकुवाको कोशी राजमार्ग पूर्णरूपमा अवरुद्ध छन्।

यी सडक वर्षा रोकिएर ओभानो नभएसम्म सञ्चालन हुन नसक्ने विभागका प्रवक्ता प्रभातकुमार झाले बताए।

यस्तै, ओखलढुंगाको सिद्धिचरण लोकमार्ग मानेभञ्ज्याङ गाउँपालिका-६ र ७ को सिमानास्थित भँडारे खोलामा अवरुद्ध छ। उदयपुरको कटारी नगरपालिका-१४ दलदलेमा समेत सिद्धिचरण लोकमार्ग अवरुद्ध छ। उदयपुरकै कटारी नगरपालिकाका विभिन्न स्थानमा सिद्धिचरण लोकमार्ग अवरुद्ध छ।

धनकुटाको पाख्रिबास नगरपालिका-५ दिकुरेमा मध्यपहाडी लोकमार्ग भने एकतर्फी सुचारु भएको छ। इलाम नगरपालिका-९ राजदुवालीलगायत स्थानमा पहिरो गएका कारण मेची राजमार्ग पूर्णरुपमा अवरुद्ध छ।

मधेस प्रदेशमा कुनै पनि राजमार्ग अवरुद्ध छैनन्।

बागमती प्रदेशका अधिकांश सडक अवरुद्ध छन्। रसुवाको गोसाइँकुण्ड गाउँपालिका-२ मा नेपाल-चीन जोड्ने पुल बाढीले बगाएका कारण सडक पूर्णरुपमा अवरुद्ध छ।

रसुवाकै गोसाइँकुण्ड-२ को पासाङ-ल्हामु सडकखण्ड तीन ठाउँमा पहिरो गएर बन्द छ। रसुवाकै गोसाइँकुण्ड-५ स्याफ्रुबेंसी सडक वर्षाका कारण अद्ध छ।

सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-४ चारकिलोमा पहिरोका कारण अरनिको राजमार्ग पूर्णरुपमा अरुद्ध छ। काभ्रेको रोशी गाउँपालिका-११ माम्तीखोला, डालाबेसी, बुलढुंगा, बाँझोखेतलगायत ठाउँमा पहिरोका कारण बिपी राजमार्ग पूर्णरुपमा अवरुद्ध छ।

मकवानपुरमा अविरल वर्षाका कारण इन्द्रसरोबर गाउँपालिका-३ सिस्नेरी बजारस्थित कुलेखाने-सिस्नेरी-दक्षिणकाली-काठमाडौं सडक पूर्णरुपमा अवरुद्ध छ। मकवानपुरकै भीमफेदी गाउँपालिका-८ बगुवा खोलाको कान्ति लोकपथ पूर्ण अवरुद्ध छ। मकवानपुरकै बकैया गाउँपालिका-११ घट्टेपाखास्थित कान्ति लोकपथ पहिरोका कारण पूर्णरुपमा अवरुद्ध छ।

सिन्धुली फिक्कल गाउँपालिका-६ नागस्थानमा पहिरोका कारण मध्यपहाडी राजमार्ग पूर्णरुपमा अवरुद्ध छ। सिन्धुली मरिण गाउँफालिका-२ सिन्दुरेमा पहिरोका कारण मदन भण्डारी राजमार्ग एकतर्फी मात्रै खुलेको छ।

सिन्धुलीकै सुनकोशी गाउँपालिका-१ नेपालथोकमा पहिरोका कारण बीपी राजमार्ग पूर्णरुपमा बन्द छ। “बाढी-पहिरो रोकिएर पहिरो पन्छाएपछि मात्रै यी सडक पूर्णरूपमा सञ्चालनमा आउँछन्,” झाले भने।