काठमाडौँ
००:००:००
२८ असार २०८३, आईतवार

२१ आश्विन २०८२
फाइल तस्बिर।
अ+
अ-

काठमाडौँ। निर्वाचन आयोगले राजनीतिक दलहरूसँग छलफल गर्ने तयारी गरेको छ। कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका सन्दर्भमा राजनीतिक दलसँग परामर्शको तयारी गरेको हो।

उनले सम्भवतः यही असोज ३० गते दलहरूसँग छलफल हुनसक्ने जानकारी दिए। “हामी दलहरूसँग निर्वाचनको विषयमा छलफल र परामर्श गर्ने तयारीमा छौँ‚” भण्डारीले नेपालन्युजसँग भने‚ “सम्भवतः यही असोज ३० गतेभित्र हुन्छ होला। मितिको आधिकारिक निर्णय भने भइसकेको छैन।”

यसअघि निर्वाचन आयोगले २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कार्यतालिका स्वीकृत गर्दै सार्वजनिक गरिसकेको छ। आयोगले सोमबार साँझ विज्ञप्ति जारी गर्दै कार्यतालिका सार्वजनिक गरेको हो। कार्यतालिकाअनुसार, मंसिर १ गतेदेखि १० गतेसम्म राजनीतिक दल दर्ता हुनेछ। यस्तै‚ पहिलो हुने निर्वाचन प्रणालीका लागि माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने विज्ञप्तिमार्फत आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिएका छन्।

समानुपातिक निर्वाचन प्रणालीका लागि मंसिर १५ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने र पुस १८–१९ गते बन्दसूची पेस हुने कार्यक्रम छ। आयोगले ३ देखि १८ फागुन गतेसम्म निर्वाचन प्रचारप्रसार हुने तथा १८ फागुनबाट प्रचारप्रसार निषेध अवधि लागू हुने पनि जनाएको छ। विज्ञप्तिमा आयोगले २१ फागुनको बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुने र मतपेटिका संकलनपछि मतगणना सुरु हुने जनाएको छ।

२३ र २४ भदौमा भएको जेन-जी विद्रोहपश्चात् बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले संसद् विघटन गर्दै फागुनमा निर्वाचनको मिति घोषणा गरेको थियो।