२२ आश्विन २०८२
अ+
अ-

काठमाडौँ। पूर्वमन्त्री राजकुमार गुप्ता र रञ्जिता श्रेष्ठविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता भएको छ। कास्कीको पोखरास्थित लिची बगान जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार उनीहरूसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको हो।

उक्त एक सय ३४ रोपनी जग्गा हिनामिना प्रकरणमा पूर्वमन्त्रीद्वय गुप्ता र श्रेष्ठको अडियो सार्वजनिक भएको थियो। अडियो सार्वजनिक भएपछि तत्कालीन सामान्य प्रशासनमन्त्री गुप्ताले राजीनामा दिएका थिए।

तत्कालीन मन्त्री गुप्ताले कास्की मालपोत कार्यालयका तत्कालीन प्रमुख रामचन्द्र अधिकारीलाई सरुवा थमौती गरिदिन्छु भनी घरजग्गा व्यवसायीसँग ५३ लाख रुपैयाँ लिएको र तीनै घरजग्गा व्यवसायीबाट भूमि आयोगको सदस्य
बनाउनका लागि २५ लाख रुपैयाँ घुस डिल गरेको अडियो सार्वजनिक भएको थियो।

गुप्ता र श्रेष्ठसहित बिचौलिया सुजनकुमार तामाङ, यामकुमारी गुरुङ र तुलसीराम बुढा मगरविरुद्ध ७८ लाख रुपैयाँ बिगो मागदाबी गरिएको छ। यस्तै, मालपोत कार्यालय कास्कीका तत्कालीन मालपोत अधिकृत रामचन्द्र अधिकारीविरुद्ध ५३ लाख बिगो मागदाबी गरिएको छ। अर्का प्रतिवादी खेमबहादुर पुनविरुद्ध भने २५ लाख रुपैयाँ बिगो मागदाबी गरिएको छ।