काठमाडौँ
००:००:००
२३ असार २०८३, मंगलवार

अपराध

कपडाको कागजात बनाएर कार्गोमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनचाँदी अमेरिका तस्करी हुन लागेको खुलासा

२३ असार २०८३
१६ असारमा अमेरिका लैजान लागिएको अवस्थामा प्रहरीले बरामद गरेको सुनचाँदीका गहना। तस्बिरहरू : त्रिभुवन विमानस्थल सुरक्षा कार्यालय
अ+
अ-

१६ असार अपराह्न करिब ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो कम्प्लेक्समा नियमित सुरक्षा जाँच चलिरहेको थियो। त्यस दिनको जाँच अरू दिन जस्तो सामान्य थिएन।

केही दिनदेखि एउटा कार्गो कम्पनीमार्फत भन्सार छलेर बहुमूल्य सामग्री विदेश पठाउन लागिएको सूचना सुरक्षा निकायमा पुगेको थियो। त्यसैले त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक वसन्त रजौरेले टोलीलाई विशेष सतर्कता अपनाउन निर्देशन दिएका थिए।

त्यही क्रममा युनिक कार्गोमार्फत एपेक्स लजिस्टिक प्रालिका नाममा दर्ता भएको ब्यागेज स्क्रिनिङ मेसिनमा राखियो। भन्सार कागजातमा त्यसभित्र जुत्ता, पाइन्ट, सारी र अन्य कपडा रहेको उल्लेख थियो। तर, एक्स-रे स्क्रिनमा देखिएको आकृति कागजातसँग मेल खाएन।

कपडाभित्र धातुजन्य आकृति देखिएपछि सुरक्षा टोलीले ब्यागेज खोलेर जाँच गर्‍यो। सो जाँचबाट कपडाको आवरणमा सुनचाँदीका गहना अमेरिका पठाउन खोजिएको खुलेको प्रहरीको भनाइ छ।

कपडाभित्र नेपाली डिजाइनका गहना

जाँचपछि बरामद सामग्री १८ असारमा सुनचाँदी व्यवसायी संघ क्षेत्रपाटीमा परीक्षण गर्दा २८५.१७८ ग्राम सुन र तीन किलो ९१४ ग्राम चाँदी रहेको यकिन भयो।

बरामद गहनामा नेपाली मौलिक डिजाइनका सामग्री थिए। नौगेडी, चन्द्रमा, जन्तर, नेपालको झन्डाअंकित ब्रोच, सिंगल र डबल ब्रोच, मंगलसूत्र, मोतीमाला, त्रिशूल डिजाइनका नेकलेस, चारपाटे नेकलेस, काँडावाला चुरा, यार्लिङसहितको शिरबन्दी, झुम्का र सिक्री जस्ता गहना कपडाभित्र कार्टुनमा प्याक गरिएको अवस्थामा भेटिएको प्रहरीको भनाइ छ।

प्रहरीले बरामद गरेको चाँदीका गहना। 

सुनका गहनाको मूल्य ६७ लाख ३४ हजार ३५० रुपैयाँ र चाँदीका गहनाको मूल्य १४ लाख ३८ हजार ४३ रुपैयाँ पर्ने आकलन गरिएको छ। यस आधारमा बरामद सुनचाँदीको कुल मूल्य ८१ लाख रुपैयाँभन्दा बढी हुन्छ।

विमानस्थल सुरक्षा कार्यालयका अनुसार एपेक्स लजिस्टिक प्रालिका सञ्चालक ४६ वर्षीय यज्ञराज सुवेदी र युनिक कार्गोका सञ्चालक ३४ वर्षीय रामप्रसाद दाहाल अवैध सम्पत्ति निकासीको आरोपमा पक्राउ परेका थिए। उनीहरूलाई पछि धरौटीमा रिहा गरिएको छ र हाल भन्सारको नियमित तारेखमा छन्।

एसएसपी रजौरेका अनुसार उक्त कार्गोमार्फत पहिलेदेखि नै गैरकानुनी काम भइरहेको सूचनाका आधारमा प्रहरीले निगरानी बढाएको थियो। “भन्सार कागजातमा जुत्ता, पाइन्ट, सारी र अन्य कपडा उल्लेख थियो, तर भित्र सुनचाँदीका गहना भेटिए,” उनी भन्छन्, “विमानस्थलमा गैरकानुनी गतिविधि अनौठो होइन, तर यस किसिमको घटना बिरलै हो।”

‘मिसडिक्लेरेसन’ को शंका

प्रहरीका अनुसार कार्गोमा घोषणाविपरीतको सामान भेटिनु भन्सार छली, अवैध सम्पत्ति निकासी वा सम्पत्तिको स्रोत लुकाउने प्रयाससँग जोडिएको हुन सक्छ।

अन्तर्राष्ट्रिय व्यापारमा निर्यात हुने वस्तुको वास्तविक विवरण, परिमाण र मूल्य भन्सारमा घोषणा गर्नुपर्ने व्यवस्था छ। तर, कम मूल्यका कपडा घोषणा गरेर उच्च मूल्यका सुनचाँदीका गहना पठाउन खोजिएको देखिनुले कारोबारको वास्तविक प्रकृति लुकाउने प्रयास भएको आशंका जन्माएको अनुसन्धान अधिकारीहरू बताउँछन्।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीहरूका अनुसार यस्तो काम भन्सार एजेन्ट वा कार्गो सञ्चालकको एकल सक्रियतामा मात्रै सम्भव हुँदैन। त्यसैले कार्गो प्रणाली प्रयोग गरेर हुने ‘मिसडिक्लेरेसन स्मगलिङ’ अर्थात् सामानबारे झुटो घोषणा गरी गरिने तस्करीको पाटोमा अनुसन्धान केन्द्रित गरिएको छ।

प्रहरीले बरामद गरेको सुनचाँदी।

यस्तो तस्करीमा वास्तविक सामान लुकाएर कम जोखिम देखिने वस्तु घोषणा गरिन्छ। त्यसबाट भन्सार प्रणालीलाई झुक्याउने, कारोबारको वास्तविक मूल्य लुकाउने र नियमनबाट उम्किने प्रयास हुन्छ।

प्रहरीका अनुसार स्क्रिनिङमा धातुको संकेत नदेखिएको भए उक्त कार्गो सामान्य कपडाका रूपमा अमेरिका पुग्न सक्थ्यो। त्यस अवस्थामा लाखौँ मूल्यका सुनचाँदीका गहना भन्सार अभिलेखमा नदेखिने सम्भावना थियो।

भन्सार प्रक्रियामै प्रश्न

प्रहरी अनुसन्धानबाट युनिक कार्गोले एपेक्स लजिस्टिक प्रालिमार्फत सुनचाँदी अमेरिका पठाउन खोजेको खुलेको छ। उक्त कार्गोसँग जोडिएका एक व्यक्ति अमेरिका बस्ने गरेको र उनको भूमिका पनि शंकास्पद देखिएको प्रहरीको भनाइ छ। “अमेरिकामा बस्ने नेपालीको भूमिका शंकास्पद देखिएकाले त्यसतर्फ पनि अनुसन्धान भइरहेको छ,” एसएसपी रजौरे भन्छन्।

उनका अनुसार भन्सार जाँचपासको प्रक्रियामा वा त्यसपछि पनि कुनै कार्गो शंकास्पद देखिए सुरक्षा निकायले नियन्त्रणमा लिएर अनुसन्धान गर्न सक्छ। गैरकानुनी वस्तु ओसारपसारको सूचना आए पारवहन प्रक्रियामा प्रवेश गरिसकेको कार्गोसमेत रोक्न वा फिर्ता ल्याउन सकिने उनको भनाइ छ। “गैरकानुनी वस्तु ओसारपसार भइरहेको सूचना वा शंका लागे कार्गो रोक्ने, फिर्ता ल्याउने र अनुसन्धान गर्ने अधिकार प्रहरीलाई छ,” उनी भन्छन्।

तर, विदेशबाट नेपाल भित्रिने सामानमा भन्सार जाँचपास सम्पन्न भएपछि प्रहरीको पुनः परीक्षण अधिकार सीमित हुने सुरक्षा अधिकारीहरू बताउँछन्।

प्रहरीले बरामद गरेको सुनचाँदीका गहनाहरू। 

घटनाबारे त्रिभुवन विमानस्थल भन्सार कार्यालयले मुद्दा दर्ता गरी अनुसन्धान गरिरहेको छ। तर, भन्सार जाँचपास प्रक्रियामा कसरी यस्तो चुक भयो भन्ने प्रश्नमा प्रमुख भन्सार प्रशासक रामकृष्ण पुडासैनी मुद्दा शाखाबाट बुझ्नुपर्ने जवाफ दिन्छन्।

भन्सारका सूचना अधिकारी तथा मुद्दा शाखाका प्रमुख बाबुराम घिमिरे निकासीको क्रममा जाँचपास भइरहेका बेला सुनचाँदी फेला परेपछि अनुसन्धान सुरु गरिएको बताउँछन्। तर, जाँचपास प्रक्रिया, घोषित विवरण र शंकास्पद व्यक्तिहरूको भूमिकाबारे अनुसन्धान पूरा नभएसम्म विस्तृत विवरण सार्वजनिक गर्न नमिल्ने घिमिरेको जिकिर छ।

“मुद्दा सुरु भएको छ, अधिकृत तोकेर अनुसन्धान भइरहेको छ,” घिमिरे भन्छन्, “सामानबारे भन्सारमा नजनाई अर्थात् डिक्लियर नगरी लगिएको हो कि होइन भन्ने कुरा अनुसन्धान पूरा भएपछि सार्वजनिक गर्छौं।”