फोटोफिचर
२३ भदौमा काठमाडौँसहित देशका कैयौँ स्थानमा भएको जेन-जी आन्दोलनमा सरकारी पक्षबाट दमन भएपछि भोलिपल्ट (२४ भदौ) मा आन्दोलनले हिंसात्मक रूप लियो। सरकारी भवनदेखि निजी व्यापारिक संरचना जले। सिंहदरबारदेखि सर्वोच्च अदालत, राष्ट्रपति कार्यालयदेखि जिल्ला प्रशासनसम्म दनदनी जले।
जेन-जी आन्दोलनमा व्यावसायिक संरचना जोगिन सकेनन्। भाटभटेनी सुपरमार्केटका टंगाल, महाराजगन्ज, बौद्ध र कोटेश्वर शाखा आन्दोलित भिडको निशानामा परे। आगोको लप्काले केही घण्टामै त्यहाँका पसल, गोदाम, भित्री सजावट र करोडौँ मूल्यका सामग्री खरानी बने।

बौद्धस्थित भाटभटेनी। तस्बिर : बिक्रम राई/नेपालन्युज
यसबाहेक व्यापारिक घराना चौधरी ग्रुपको थापाथलीस्थित सीजी मोटर्समा आगजनी गरियो। वैदेशिक लगानी रहेको नक्सालको हिल्टन होटलसमेत जलाइयो।

जेन-जी आन्दोलनका क्रममा जलाइएको नक्सालस्थित हिल्टन होटल। तस्बिर : बिक्रम राई/नेपालन्युज
जेन-जी आन्दोलनको सिकारमा सञ्चारमाध्यम पनि परे। कान्तिपुर दैनिकको कार्यालय, तीनकुनेको कान्तिपुर टिभीको कार्यालय आन्दोलनकारीले जलाए।

कान्तिपुर दैनिकको कार्यालय रहेको थापाथलीस्थित सेन्ट्रल बिजनेस पार्क। तस्बिर : बिक्रम राई/नेपालन्युज
एक महिनाअघि झोसिएको आगोले भवन त जले तर आशा जलाउन सकेनन्। अहिले जलेका कतिपय भवनबाट धुवाँ र खरानी हटाउँदै पुनःनिर्माण सुरु भइसकेको छ। व्यापारीहरू फेरि आफ्नो सपना सजाउने तयारीमा छन्।
यता सरकारी निकायले पनि क्षतिको विवरण संकलन गर्दै राहत र बीमा प्रक्रियामा पहल थालिसकेका छन्। थापाथलीको टाटा मोटर्सको सोरुम त पुनःनिर्माण नै थालिएको छ।

थापाथलीस्थित टाटा मोटर्सको सोरुम। तस्बिर : बिक्रम राई/नेपालन्युज
यी व्यापारिक भवनहरू कंक्रिटका संरचना मात्रै थिएनन्, हजारौँ मानिसका सपना, रोजगारी र भविष्यको आधार थिए। जुन आधार खरानी टकटक्याएर फेरि जुर्मुराउँदै छ।

थापाथलीस्थित सीजी मोटर्सको सोरुम। तस्बिर : बिक्रम राई/नेपालन्युज