काठमाडौँ
००:००:००
१ मंसिर २०८२, सोमबार

२४ आश्विन २०८२
अ+
अ-

काठमाडौं। नेपालगञ्जको एक रेष्टुरेन्टमा सञ्चालन गरिएको जुवा अखडाबाट नेपाल प्रहरीका प्रहरी वरिष्ठ नायब निरीक्षक (सई)सहित १४ जना पक्राउ परेका छन्।

नेपालगञ्ज प्रहरीमा कार्यरत् सई रमेश शाहीसहितलाई बिहीबार राति जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले पक्राउ गरेको हो। बाँके प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार नेपालगञ्ज उपमहानगरपालिका-२ बाइपास रोडमा रहेको मौरी रेष्टुरेन्टबाट बिहीबार राति ११:३० बजे जुवा खेलिरहेका व्यक्तिलाई पक्राउ गरिएको थियो।

यसक्रममा सईसमेत परेको र उनीबारेको थप विवरण खुल्न बाँकी रहेको पातलीले बताए। उक्त होटलका सञ्चालक नेपालगञ्ज उपमहानगरपालिका-२ न्युरोडका २८ वर्षीय विज्ञान श्रेष्ठ हुन्।

प्रहरीले उनीसहित गणेश बस्नेत, सेताज अन्सारी, ऋषि गुप्ता, तरुण गौतम, विनोद खड्का, मोहम्मद सफिक बेहना, संगम शाह, मधुसूदन दहाल, मेघराज गौतम, भगिरथ यादव, नन्दलाल यादव र सुमन केसीलाई पक्राउ गरेको छ।

जुवा खालबाट १३ लाख ६३ हजार ८०० रुपैयाँ बरामद भएको पातलीले बताए। पक्राउ परेकालाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान थालेको छ।