काठमाडौँ। देशभर साउन पहिलो सातासम्म धान रोपाइँ करिब ८० प्रतिशत सम्पन्न भएको छ। कृषि विभागका अनुसार ७ साउनसम्म देशभर ७९.३६ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको हो।
विभागको तथ्यांकअनुसार देशभर धान खेतीयोग्य कुल १३ लाख ७३ हजार ८६२ हेक्टर क्षेत्रफलमध्ये हालसम्म १० लाख ९० हजार ३३६ हेक्टरमा धान रोपिएको छ।
प्रदेशगत रूपमा सुदूरपश्चिम प्रदेश सबैभन्दा अगाडि छ। यहाँ धान खेती हुने कुल एक लाख ६२ हजार २५० हेक्टरमध्ये ९०.६७ प्रतिशत अर्थात् एक लाख ४७ हजार १०६ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ।
कोसीमा दुई लाख ७६ हजार ३८६ हेक्टर खेतीयोग्य जमिनमध्ये ७३.९४ प्रतिशत अर्थात् दुई लाख चार हजार ३४७ हेक्टरमा मात्र रोपाइँ भएको छ।
मधेस प्रदेशमा हालसम्म ७८.६० प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ। मधेसमा कुल तीन लाख ५८० हेक्टरमा धान रोपिएको कृषि विभागले जनाएको छ। गत वर्ष ११ साउनसम्म मधेसमा ५१.८२ प्रतिशत मात्र रोपाइँ भएको थियो। यस आधारमा यस वर्ष मधेसमा रोपाइँको गति उल्लेखनीय रूपमा बढेको देखिन्छ।
यस्तै लुम्बिनी प्रदेशमा कुल तीन लाख एक हजार ३७२ हेक्टरमध्ये ८०.६५ प्रतिशत अर्थात् दुई लाख ४३ हजार ४२ हेक्टरमा धान रोपाइँ सम्पन्न भएको छ। बागमतीमा ७७.३३ प्रतिशत, गण्डकीमा ७८.३६ प्रतिशत तथा कर्णाली प्रदेशमा ७७.०५ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको विभागले जनाएको छ।
तथ्यांकअनुसार बागमतीमा एक लाख १४ हजार ५२४ हेक्टर, गण्डकीमा ९३ हजार ६०६ हेक्टर र कर्णालीमा ४३ हजार २९० हेक्टर धान खेतीका लागि उपयुक्त छ।
समग्रमा गत वर्षको तुलनामा यस वर्ष धान रोपाइँको अवस्था केही सुधारिएको देखिएको छ। गत वर्ष ११ साउनसम्म देशभर ७८.८४ प्रतिशत क्षेत्रमा मात्र धान रोपाइँ सम्पन्न भएको थियो। यस वर्ष यही अवधिअघि नै ७९.३६ प्रतिशत रोपाइँ सम्पन्न भइसकेको कृषि विभागको तथ्यांकले देखाएको छ।