काठमाडौँ
००:००:००
२५ कार्तिक २०८२, मंगलवार

२४ आश्विन २०८२
अ+
अ-

काठमाडौँ। नेपाली कांग्रेस संस्थापन निकट केन्द्रीय सदस्यहरूको बैठक सम्पन्न भएको छ। बैठकले पार्टीको १५ औँ महाधिवेशन नियमित ढंगबाट गर्नुपर्ने र पार्टीलाई एकतावद्ध बनाउनुपर्ने निर्णय गरेको छ।

केन्द्रीय सदस्य गुरू बरालको संयोजकत्वमा शंखमुल स्थित आरम्भ रेस्टुरेन्टमा बसेको बैठकमा सभापति शेरबहादुर देउवा सहितका अन्य पदाधिकारीहरूको ग्रेस फुल एक्जिटका लागि नियमित महाधिवेशन गर्नुपर्ने एकमत निर्णय गरेको हो।

बैठकको संयोजक बरालले दिएको जानकारी अनुसार नियमित महाधिवेशनको माध्यमबाट केन्द्रमा मात्र होइन वडा देखिनै पार्टी रिफर्म गर्नुपर्ने धारणा नेताहरूले राखेका छन्।

“यतिबेला पार्टीलाई एकताबद्ध बनाउनुपर्ने पनि छ। वडा देखि केन्द्र सम्म पार्टी रिफर्म गर्नुपर्ने पनि छ‚” उनले भने‚ “यसका लागि सभापति शेरबहादुर देउवा सहितका सबैको ग्रेस फुल एक्जिटका लागि नियमति महाधिवेशनमा जानुपर्छ भन्ने साथीहरूको एकमत रह्यो।”

बैठकमा ३७ बढी केन्द्रीय सदस्यहरूको उपस्थिती रहेको थियो। बैठकमा सहभागि अर्का केन्द्रीय सदस्य नैनसिंह महरले पनि संसदीय चुनावको सम्मुखमा पार्टीमा दरार ल्याउने भन्दा पनि पार्टीलाई एकतावद्ध बनाउन नियमित महाधिवेशनमा जानुपर्ने आफू सहितका केन्द्रीय सदस्यहरूले धारणा राखेको जानकारी दिए।

उनले सरकारले वातावरण बनाउनुपर्ने र राजनीतिक दलहरूले पनि सहयोग गरेर २१ फागुनको चुनावमा जानुको विकल्प नरहेको पनि धारणा राखेको सुनाए।

“अहिलेको समयमा २१ फागुनको चुनावभन्दा देश बाहिर गयो भने थप द्वन्द्ध आउँछ। यो देशले अब थप एकघन्टाको मुडभेड पनि थाम्न सक्दैन त्यसैले चुनावमा जानुको विकल्प छैन ।

चुनावमा नगए देश संकटमा जान्छ भनेर मैले पनि र साथीहरूले पनि कुरा राख्नुभयो‚” उनले थपे। बैठकमा प्रतिनिधिसभा पुनर्सथापना दोस्रो विकल्प भएको भन्दै कांग्रेसले चुनावको तयारी लाग्नुपर्ने र नियमित महाधिवेशन गराउनेतिरै सबै लाग्नुपर्ने बोल्ने प्रायः नेताहरूले मत राखेका थिए ।