काठमाडौँ। नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहालले मंसिरमा तोकिएको विशेष महाधिवेशनबाट अध्यक्ष छाडिहाले पनि पार्टी सञ्चालनमा भने सक्रिय भूमिकामै रहने बताएका छन्। माओवादी केन्द्रको मुख्यालय पेरिसडाँडामा शुक्रबार दिउँसो सम्पादकहरूसँग अन्तक्रियामा उनले आफ्नो स्वभाव र आवश्यकता दुवैले राजनीतिबाट निष्क्रिय बस्न नसक्ने बताए।
“मैले इतिहासमा गरेको आन्दोलनहरू र निर्वाह गरेको भूमिका र नेतृत्वमा मेरो ‘नेचर’ निष्क्रिय हुने, पलायन हुने र ‘रिटायर्ड लाइफ’ बिताउने कुरा मेरो नेचरले पनि दिँदैन। इतिहासको आवश्यकताले पनि दिँदैन,” दाहालले भने, “म अध्यक्ष पद वा पार्टीको प्रमुख भई नै राख्नुपर्छ भन्नेमा म अब छैन। मैले केन्द्रीय समितिमा स्पष्ट रूपमा भनेको छु।”
असोजको पहिलो साता भएको माओवादी केन्द्रको केन्द्रीय समिति बैठकले मंसिरमा विशेष महाधिवशेन गर्ने निर्णय गरेको थियो। सो बैठकले केन्द्रीय समिति विघटन गर्दै महाधिवेशन आयोजक समितिको संयोजकमा दाहाललाई तोकेको थियो। “एउटा निश्चित प्रक्रियाभित्रबाट नयाँ नेतृत्व निर्माणले भिन्न भूमिका गएर, देशलाई निकास दिने पहल गर्नुपर्छ भनेर नै आयोजक समितिको संयोजकमा लगिएको हो,” दाहालले भने।