काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

दृष्टिकोण

हाम्रा नेताहरूले इतिहासबाट पाठ सिक्नेतिर कहिल्यै ध्यान दिएनन्। उनीहरूकै कारण यतिखेर संविधान कोमामा पुगेको छ, मुलुक दुर्घटनाग्रस्त छ।

२७ आश्विन २०८२
अ+
अ-

जेन-जी आन्दोलनले उलटपुलट त ल्यायो, तर अन्योल कायमै छ। संविधान कोमामा पुगेको छ। संक्रमणकाल कहिलेसम्म लम्बिने हो, पत्तो छैन। प्रहरीहरूबाट लुटिएका हतियार र जेलबाट भागेका कैदीबन्दीहरूका कारण आमजन शान्तिले सास फेर्न सकिरहेका छैनन्।

मुलुक यस्तो अवस्थामा पुग्नुमा राजनीतिक दलका अदूरदर्शी र हठी नेताहरू नै दोषी रहेको घामजस्तै छर्लंग छ। वृद्धावस्थामा पनि पद नछाडी अकण्टक शासनसत्तामा टिकिरहने नेताहरूको अभीष्टले मुलुक भुमरीमा फसेको थियो।

दलविहीन पञ्चायती व्यवस्थाले जनतालाई न्याय गर्न सकेन भनेर बहुदल ल्याइयो। राजा वीरेन्द्रको वंशविनाशपछि गद्दीमा बसेका राजा ज्ञानेन्द्रको बढ्दो महत्त्वाकांक्षा र क्रान्ति गर्न हतियार बोकेर जंगल पसेका माओवादी। अन्ततः माओवादी र राजनीतिक दलहरू एकगठ भएर राजतन्त्र उन्मूलन भए पनि दलहरू मुलुकको उन्नतिको ढोका खोल्न समर्थ हुन सकेनन्। शान्ति र समृद्धि मृगतृष्णा नै भयो।

आन्तरिक कलहमा फसेका मुख्य राजनीतिक दलहरू आपसी द्वन्द्व, खिचातानी, षड्यन्त्र, छिर्केदाउ, हानाथाप, लुछाचुँडी र सत्ताकै खेलले मुलुक दिनदिनै ओरालो यात्रातिर उन्मुख भइदिँदा जनतामा चरम निराशा र असन्तुष्टि चुलिँदै गएको थियो। यस्तो बेला राजावादीहरूको उदय मात्रै होइन, राजनीतिमा आएको छोटो समयमै रवि लामिछानेलाई मिलेको सफलता अस्वाभाविक थिएन। उता बालेन साह, हर्क साम्पाङ र गोपी हमालहरूको अप्रत्याशित आगमन पनि दलप्रतिको वितृष्णाकै परिणाम थियो।

वर्तमानको लेखाजोखा गर्दै भविष्य देख्नका लागि इतिहास सम्झनुपर्नेमा ज्ञानको गंगा उल्टो बगाउँदै हिँड्ने ओली र होहोरीमा नाच्दै ‘वी लभ ओलीबा’ भन्ने गुटगत कार्यकर्ताहरूकै कारण जेन-जी आन्दोलनको आरीघोप्टे बर्सातबाट आज सिंगो एमाले पार्टी नै नराम्ररी डुबानमा परेको छ।

यसलाई हेक्का राखेर शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहालले आफूहरूको उपयोगिता अब सकिएको अनुभूत गरी नेतृत्व हस्तान्तरण गर्नुपर्नेमा यी पात्र मुलुकलाई थप अनिर्णयको बन्दी बनाएर व्यक्तिगत स्वार्थ र सत्तालिप्सामा लागेकै कारणको प्रतिफल हो- भदौ २३ र २३ गतेको आन्दोलन। चतुर दाहाल त तत्कालै ज्यान जोगाउन भूमिगत भइहाले, किनकि लामै समय भूमिगत भएर बाहिर देखा परेकाले उनी यो कलामा निपुण छँदै थिए। छैटौँपटक सत्तारोहणको प्रतीक्षामा रहेकै बेला जीवनको उत्तरार्द्धमा आन्दोलनकारीबाट सपत्नी रक्तमुछेल हुने गरी पिटाइ खाइएला भन्ने कल्पनासम्म देउवाले गरेका थिएनन्। सबैभन्दा बिजोग त बहालवाला प्रधानमन्त्री ओलीको देखियो। अन्तिम समयसम्म राजीनामा नदिने हठमा रहेका ओली हतारमा सत्ता छाडेको चिर्कटोमा हस्ताक्षर गरी सेनाको हेलिकोप्टर चढेर ज्यान बचाउन भाग्नुपर्ने घटना उनका लागि कल्पनातीत थियो। यसपटक उनको छिर्केदाउ र उखान टुक्काले काम गरेन।

इतिहासबाट पाठ नसिक्नेहरू

अन्य मुलुकका घटना छाडौँ, हाम्रै मुलुकका अधिनायकहरूको अन्त्य सुखद भएको छैन। अंग्रेज सेनासँग डटेर लडेको र नेपाली सेनालाई आधुनिक बनाएकोबाहेक भीमसेन थापाको शासन निरंकुश र परिवारवादी थियो भन्ने तथ्य बुझ्न इतिहासतिर फर्के हुन्छ। उनले सेनामा जर्नेल, कर्नेलको व्यवस्था त गरे, तर यो पद उनका बुबा र भाइ-भतिजबाहेकले पाएनन्।

आफ्ना विरोधीलाई रक्तरञ्जित बाटोबाट पन्छाएर लामो समय सत्तासीन रहेका थापालाई कुनै पनि हालतमा असल शासक मान्न नसकिने तर्क इतिहास शिरोमणि बाबुराम आचार्यले गरेका छन्। बन्दी अवस्थामा सेरिएर मात्रै भीमसेन थापाले सुख पाएनन्, विष्णुमतीको किनारामा घिटीघिटी हुँदै अन्ततः उनी स्याल र गिद्धको आहारा बन्न पुगे। इतिहासकार ज्ञानमणि नेपालले त उनकै सिको गरेर उनका भाइतिरका नाति जंगबहादुर निरंकुश तानाशाह बनेको उल्लेख गरेका छन्।

थापाकै भतिज माथवरसिंह थापाले आफू सत्तामा आउनेबित्तिकै विरोधीखलक पाँडेहरूलाई खसीबोकाजस्तै कटाए। उनीहरूका बालक छोरानाति पनि भनेनन्। आखिर पाप धुरीबाट कराएरै छाड्यो, उनी आफ्नै भान्जा जंगबहादुरको गोलीको निसाना बने।

लामो समय मुलुकलाई आफ्नो पञ्जाभित्र जकडेर आफ्ना छोरानातिले मात्रै शासक बन्न पाउने बन्दोबस्त गरेका जंगबहादुर पनि जगजगी हुँदै बाँचे। आफ्नै भाइ बद्रीनरसिंहले उनको हत्या प्रयास गरे। लखन थापा मगरले त जंगबहादुरको विनाशका लागि मनकामना माताबाट आफूलाई आदेश भएको भन्दै गोरखामा विद्रोहको बिगुल नै फुके। सुकदेव र सुपति गुरुङहरू पनि उनको शासनविरुद्ध विद्रोहमा उत्रिएका थिए।

तीन दशक लामो शासनपछि सिकारको समयमा उनको रहस्यमय मृत्यु भयो। अन्वेषक जनकलाल शर्माले त बाघलाई हान्ने निहुँ गरेर एक जना आठपहरिया बोगटी क्षेत्रीले जंगबहादुरको छातीमै गोली प्रहार गरेको र यसमा उनकै भाइहरूको षड्यन्त्रले काम गरेको पनि उल्लेख गरेका छन्।

इतिहासबाट जति गहिराइमा पुगेर पाठ सिकिन्छ, त्यति नै भविष्य पनि सुखद हुन्छ। तर, हाम्रा नेताहरूले इतिहासबाट पाठ सिक्नेतिर कहिल्यै ध्यान दिएनन्।

नेपाली इतिहासमा निरंकुश शासकहरूको अन्त्य सुखद नभएको जान्दाजान्दै नेताहरूले सत्तालाई नै सर्वोपरि ठान्ने जुन गल्ती गरे, यो त्यसैको परिणाम हो। मुलुक र जनताको बृहत्तर हित बिर्सेर उनीहरू सीमित हुक्के, बैठके र बिचौलियाहरूको मात्रै भर परे। अब उनीहरू सत्तामा फर्कन दुसाध्य छ। अर्थात्, अस्वीकार्य छन्।

वर्तमानको लेखाजोखा गर्दै भविष्य देख्नका लागि इतिहास सम्झनुपर्नेमा ज्ञानको गंगा उल्टो बगाउँदै हिँड्ने ओली र होहोरीमा नाच्दै ‘वी लभ ओलीबा’ भन्ने गुटगत कार्यकर्ताहरूकै कारण जेन-जी आन्दोलनको आरीघोप्टे बर्सातबाट आज सिंगो एमाले पार्टी नै नराम्ररी डुबानमा परेको छ। यो पार्टीलाई डुबानबाट बचाउने इमानदार माझीरूपी कार्यकर्ताहरूलाई समेत आज बाहिर निस्केर अनुहार देखाइनसक्नुको अवस्था आइपरेको छ।

यो सबै इतिहासबाट पाठ नसिक्नुको परिणाम हो।

इतिहास उहिलेको खुइलेको कुरा होइन, वर्तमानको आधार हो। हिजो जे भयो, त्यसैको परिणाम आज हामीले भोगिरहेका छौँ। भीमसेन थापाको निरंकुशता र दुःखान्तबाट पाठ सिकेर नेताहरू जनहितमा लागेर मोक्षप्राप्तितिर होइन, निरंकुश तानाशाह बन्ने अभीष्टतिर उन्मुख भइदिए।

हिजो कुनै नराम्रो घटना थियो भने त्यस्तो फेरि हुन नदिन त्यस घटनाबारे राम्ररी थाहा पाउनैपर्छ। हिजो राम्रो भएको थियो भने  त्यस्तो कामको अनुसरण र प्रचार गर्नैपर्छ। त्यसैले हिजो अर्थात् इतिहासलाई बिर्सनु वा नजरअन्दाज गर्नु भविष्यको यात्रालाई अन्योलग्रस्त बनाउनु हो। इतिहासजस्तो मेरुदण्डलाई भुलेर भविष्य खोज्ने काम मूर्खसिवाय अरू कसैले गर्न सक्दैन। यसअर्थमा हामीले लामै समय मूर्खहरूको शासन भोग्न अभिशप्त हुनुपर्‍यो।

तीरलाई जति टाढा वा मार हान्ने गरी प्रहार गर्नुपर्ने हो, त्यति नै पछाडि खिच्नुपर्छ। इतिहासबाट जति गहिराइमा पुगेर पाठ सिकिन्छ, त्यति नै भविष्य पनि सुखद हुन्छ। तर, हाम्रा नेताहरूले इतिहासबाट पाठ सिक्नेतिर कहिल्यै ध्यान दिएनन्। उनीहरूकै कारण यतिखेर संविधान कोमामा पुगेको छ, मुलुक दुर्घटनाग्रस्त छ।