काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

पूर्णबहादुर खड्का कार्यवाहक सभापति

२८ आश्विन २०८२
२८ असोजको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा सभापति शेरबहादुर देउवालगायत। तस्बिर : बिक्रम राई/नेपालन्युज
अ+
अ-

जेन-जी आन्दोलनको दोस्रो दिन २४ भदौमा कुटपिटमा परेयता सार्वजनिक रूपमा नदेखिएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ३४ दिनपछि मंगलबार ललितपुर, सानेपास्थित पार्टी कार्यालयमा देखा परे। आफूसँगै आक्रमणमा परेकी पत्नी तथा कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवासँग केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन पुगेका उनलाई पत्रकारले सोधे– ‘स्वास्थ्य अवस्था कस्तो छ?’

जवाफमा देउवाले पुरानै शैलीमा भने, ‘ठीक छ, ठीक छ।’

त्यसको केही समयमा केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै देउवाले पार्टीलाई विधानसम्मत महाधिवेशनको बाटोमा लैजाने बताए। आफ्नो स्वास्थ्य अवस्था देखाउँदै उनले पार्टीका उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति तोकेको घोषणा गरे।

उनको सम्बोधन सकिएलगत्तै बैठक ३० असोज १ बजेसम्मका लागि स्थगन गरियो।

कांग्रेसमा विशेष महाधिवेशनका लागि हस्ताक्षर संकलन भइसकेको र दर्ताको तयारी भइरहेको बेला सभापति देउवाले खड्कालाई कार्यवाहक तोक्दै आफू पार्टीको कार्यकारी भूमिकाबाट अलग भएको सन्देश दिए। उनले अब आफू कांग्रेस राजनीतिमा नफर्कने अभिव्यक्ति दिँदै पार्टीबाट एक चरणको बिदा लिए।

२८ असोजको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा पार्टी सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्का। खड्कालाई देउवाले कार्यवाहक सभापति बनाएका छन्। तस्बिर : बिक्रम राई/नेपालन्युज

“घरमा सधैँ एकजना मूली रहँदैन। पार्टीमा पनि हमेसा एकैजना सभापति रहिरहँदैन। मैले पहिले नै हाम्रो वैधानिक व्यवस्था र राजनीतिक इच्छाले १५औँ महाधिवेशनबाट पार्टी नेतृत्व विधिवत् रूपमा हस्तान्तरण गर्छु भनिसकेको छु। आगामी १५औँ महाधिवेशनबाट मबाहेक अरू कुनै साथी सभापति बन्नुहुनेछ, त्यसमा द्विविधा छैन,” देउवाले भने।

दुई कार्यकालभन्दा बढी सभापति हुन नपाउने कांग्रेसको विधानको व्यवस्थाअनुसार पनि देउवा आगामी महाधिवेशनमा उम्मेदवार बन्न पाउनेछैनन्।

देउवाले पार्टीको १५औँ महाधिवेशन विधानसम्मत नियमित हुनुपर्ने सुझाव दिएका छन्। नेतृत्वको दाबी गरिरहेका नेताहरूलाई उनले कांग्रेसको इतिहासबाट आर्जित विश्वसनीयता र नागरिकको भरोसा नटुटाउन चुनौतीपूर्ण जिम्मेवारी दिएका छन्।

महाधिवेशन सम्पन्न गर्न खड्कालाई कार्यवाहकको जिम्मेवारी दिइएसँगै अब १५औँ महाधिवेशन कसरी हुन्छ भन्ने प्रश्न उठेको छ। किनभने, एकातिर विशेष महाधिवेशन बोलाउनुपर्ने भन्दै दुई हजार ४८५ जना महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गरेका छन्, अर्कातर्फ देउवाकै कारण महाधिवेशन भएन भन्नेहरूलाई जवाफ दिँदै उनले नेतृत्व छाडेका छन्।

कांग्रेसका केन्द्रीय सदस्य तथा संस्थापनइतरका नेता शेखर कोइरालाले आफूले उठाउँदै आएको शीघ्र महाधिवेशनका लागि वातावरण बन्दै गएको बताए। “सभापतिज्यूले विधानसम्मत महाधिवेशन भनेर भनिसक्नुभएको छ। उहाँले नेतृत्व छोड्न आफू तयार रहेको बताउनुभयो र कार्यवाहक पनि तोक्नुभयो। यसको अर्थ शीघ्र महाधिवेशनको वातावरण बनेको बुझ्नुपर्छ,” उनले भने।

२३ र २४ भदौको जेन-जी आन्दोलनपछि नेतृत्व परिवर्तनको चर्को बहस हुँदा सभापति देउवाको ‘सम्मानजनक बिदाइ’ का पक्षधर नेताहरू विशेष महाधिवेशनको विपक्षमा उभिएका थिए। विशेष महाधिवेशनले पार्टी विभाजन गर्ने भन्दै उनीहरूले नियमित महाधिवेशन गर्नुपर्ने र कार्यवाहक तोकेर अगाडि बढ्नुपर्ने धारणा राख्दै आएका थिए। यिनैमध्येका एक नेता कृष्णप्रसाद सिटौलाले पनि देउवाको अभिव्यक्ति तथा कदमले पार्टीलाई एकताबद्ध बनाउन सहयोग पुग्ने धारणा राखे। “परिवर्तन हतारोमा गरिने विशेष महाधिवेशनबाट हुन सक्दैनथ्यो‍,” उनले भने।

कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा सम्बोधन गर्न पुगेका सभापति देउवा र उनकी श्रीमती आरजु राणा। तस्बिर : बिक्रम राई/नेपालन्युज

देउवाको पछिल्लो कदमले पार्टीमा हतारिएका र जुनसुकै तहमा पुगेर भए पनि देउवालाई गलत साबित गर्न लागिपरेका नेताहरूलाई भने धक्का पुगेको बुझाइ संस्थापन पक्षका नेताहरूको छ। उनीहरूले अब नियमित महाधिवेशनको ढोका खुलेकोमा सन्तुष्टि जनाएका छन्। पार्टीको अबको निर्णय नियमित महाधिवेशनका लागि हुने देउवानिकट अर्का नेता विजय गच्छदारले बताए। “अब विशेष महाधिवेशन होइन, १५औँ महाधिवेशन हुन्छ। त्यो केन्द्रीय समितिको सहमतिको निर्णयबाट हुने मात्र होइन, पुरानै प्रतिनिधिहरूबाट नेतृत्व मात्र बदलेर कांग्रेसमा उत्साह आउन सक्दैन,” उनले भने, “कांग्रेसमा एकता सुदृढ पार्न र राष्ट्रिय जिम्मेवारी बोक्न सक्ने पार्टी बनाउन नियमित महाधिवेशन नै उचित विकल्प हो।”

पार्टीका प्रवक्ता प्रकाशशरण महतले देश र पार्टीको अवस्थाबारे जिम्मेवार भएर उचित मितिमा नियमित महाधिवेशन हुने बताए। उनले उचित समय भनेको कहिले हो भन्ने प्रश्नमा थपे, “एक वर्ष या डेढ वर्षमा महाधिवेशन गर्ने भनेर कसैले भनेको छैन, भन्ने कुरा पनि हुँदैन। तर, महाधिवेशनजस्तो पार्टीको सर्वाधिक महत्त्वको विषयलाई व्यवस्थित प्रक्रियाबाट गर्नुपर्छ।”

उनले नियमित महाधिवेशनका लागि न्यूनतम कति समय चाहिन्छ भन्ने निर्क्योल केन्द्रीय समितिले गर्ने पनि बताए। तर, यसरी समय तोक्दा दुई या चार महिना कति लाग्ने हो, तोकेर सहमतिमै कार्यतालिका पारित गर्नुपर्ने उनको राय छ।

कांग्रेसको विधानमा हरेक चार वर्षमा नियमित महाधिवेशन गर्नुपर्ने प्रावधान छ। मंसिर २०७८ मा भएको पार्टीको १४औँ महाधिवेशनले देउवालाई दोस्रो कार्यकालका लागि सभापति चयन गरेको थियो। यसरी हिसाब गर्दा मंसीर २०८२ मा १५औँ महाधिवेशन गर्नुपर्ने हुन्छ। तर, करिब दुई महिना बाँकी रहँदा महाधिवेशनको आधार क्रियाशील सदस्यता नवीकरण र वितरणको कार्य निष्कर्षमा पुग्न सकेको छैन।

जेन-जी आन्दोलनपछि कांग्रेसमा तत्कालै महाधिवेशन गरेर नेतृत्व परिवर्तन गर्नुपर्ने बहस तीव्र छ। यस्तोमा सभापति देउवाले पार्टीबाट विश्राम लिएपछि कांग्रेसको १५औँ महाधिवेशन कसरी हुन्छ भन्ने चासो बढ्न पुगेको छ।