काठमाडौं जिल्ला अदालतले प्रस्तुत प्रमाण र बयानका आधारमा महरालाई तत्काल निर्दोष ठहर गर्न सकिने अवस्था नरहेको निष्कर्ष निकाल्दै बुधबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो।
काठमाडौं। पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि जेल पठाउन आदेश दिएको छ।
अदालतले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ र ८० बमोजिम सुन तस्करी प्रकरणमा पक्राउ परेका महरालाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो। न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले तत्काल प्राप्त प्रमाणबाट सुन तस्करीमा महराको पनि संलग्नता देखिएको ठहर गर्दै थुनामा पठाउन आदेश दिएको हो।
अदालतले प्रस्तुत प्रमाण र बयानका आधारमा महरालाई तत्काल निर्दोष ठहर गर्न सकिने अवस्था नरहेको निष्कर्ष निकाल्दै बुधबार पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो।
चिनियाँ तस्करले भेप (विद्युतीय चुरोट)मा ल्याएको ९ किलो बढी सुन भन्सारबाट छुटाउन महराले भनसुन गरेको आरोप छ। महराविरुद्ध ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बिगो दाबी गर्दै सोमबार मुद्दा दर्ता भएको थियो। उनका छोरा राहुलसहित ४ जनाविरुद्ध यसअघि नै मुद्दा दर्ता भएको थियो।
अदालतको आदेशसँगै महरालाई जगन्नाथदेवल सुनधारा कारागार पठाएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जनाए। उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले भेपमा लुकाएर ल्याइएको सुन विमानस्थल भन्सारबाट छुटाउन दबाब दिएको आरोपमा यही असोज २६ गते पक्राउ गरेको थियो।