काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२९ आश्विन २०८२
नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा सहभागी हुन पुगेका अध्यक्ष केपी शर्मा ओली। तस्बिर : बिक्रम राई/नेपालन्युज
अ+
अ-

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २३ भदौमा विद्यार्थी तथा युवा मारिएपछि मात्रै आफूले गोली चलेको थाहा पाएको बताएका छन्। केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा गोली प्रहार गर्ने आदेश दिने अधिकार प्रधानमन्त्रीसँग नहुने जिकिर गरेका छन्।

“गोली चलाउने आदेश कानुनतः अधिकारप्राप्त संस्था वा अधिकारीले मात्र दिन सक्छ र प्रधानमन्त्री त्यस्तो अधिकारी होइन भन्ने स्पष्ट छ”, ओलीको प्रतिवेदनमा भनिएको छ, “भदौ २३ गतेको गोलीकाण्डको बारेमा प्रधानमन्त्रीलाई घटना घटेपछि थाहा भएको हो।”

ओलीले प्रतिवेदनमा प्रश्नैप्रश्न गरेका छन्।  २३ र २४ भदौको आन्दोलनमा दंगा नियन्त्रणका अन्य वैकल्पिक उपाय अवलम्बन नै नगरी किन त्यति ठूलो मात्रामा गोली चलाएको भन्दै उनले प्रश्न गरेका छन्। “दङ्गा नियन्त्रणका अन्य वैकल्पिक उपाय अवलम्बन नै नगरी किन त्यति ठूलो मात्रामा गोली चल्यो? एकसाथ किन करिब दुई दर्जन युवाहरूको हत्या भयो? किन सयको संख्यामा घाइते बनाइयो? २४ गतेको विध्वंसको तयारीका लागि वा के का लागि? २३ र २४ गतेका घटनाहरूको अन्तरसम्बन्धको विश्लेषण गर्नेपर्छ।”

उनले २३ भदौको घटनापछि बसेको मन्त्रिपरिषद्को बैठकले उक्त घटनाका सम्बन्धमा दुःख व्यक्त गरेको बताएका छन्। “घाइतेहरूको निःशुल्क उपचारका निम्ति निर्णय गरेको छ। मृतक र घाइतेका परिवारलाई राहत र क्षतिपूर्तिका लागि निर्णय गरेको छ,” प्रतिवदेनमा भनिएको छ, “घटनाको सत्यतथ्य छानबिन गर्न पूर्वन्यायाधीशको नेतृत्वमा छानबिन आयोग बनाउने र त्यस आयोगको सिफारिसमा दोषीउपर कानुनबमोजिम कारबाही गर्ने निर्णय गरेको छ। यथार्थ यस्तो हुँदाहुँदै पनि तत्कालीन प्रधानमन्त्रीविरुद्ध नियोजित रूपमा चलाइएका निराधार र आपराधिक प्रचारलाई नेकपा (एमाले) कडा प्रतिवाद र खारेज गर्दछ।”