काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

३० आश्विन २०८२
अ+
अ-

काठमाडौं। नेपालले आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया–प्यासिफिक छनोटमा आफ्नो लय कायमै राखेको छ।

कुशल भुर्तेलको सानदार ब्याटिङ र गुलशनकुमार झाको धारिलो बलिङसँगै नेपालले बुधबार सुपर सिक्सको तेस्रो खेलमा ओमानलाई ३८ रनले पराजित गर्दै अपराजित यात्रा निरन्तर राखेको हो।

यो जितसँगै नेपालले चार खेलबाट आठ अंक जोड्दै शीर्ष स्थान मजबुत बनाएको छ। समूह चरणबाट दुई अंक बोक्दै सुपर सिक्समा पुगेको नेपालले यसअघि यूएईलाई एक रन र कतारलाई पाँच रनले हराएको थियो। ओमान भने पहिलो हारसँगै दोस्रो स्थानमा झरेको छ। यद्यपि, दुवै टोली विश्वकपका लागि योग्य भइसकेका छन्।

नेपालले दिएको १५२ रनको लक्ष्य पछ्याएको ओमानले नौ विकेट गुमाउँदै ११३ रन मात्र बनाउन सक्यो।

ओमानका विनायक सुकलाले सर्वाधिक ३१ रन बनाए। १९ बल खेलेका उनले १ चौका प्रहार गरे। मोहम्मद नादिम २५ रनमा आउट हुँदा अन्यको प्रदर्शन जम्न सकेन।

नेपालका गुलशनकुमार झाले सर्वाधिक ३ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले ३१ रन खर्चिए। सोमपाल कामी र नन्दन यादवले समान दुई विकेट आफ्नो बनाए। सन्दीप लामिछानेको नाममा समान एक विकेट रह्यो।

त्यसअघि पहिला ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै १५१ रन बनाएको थियो।

नेपालका ओपनर कुशलले सर्वाधिक ६९ रन बनाए। ५१ बल खेलेका उनले ७ चौका र १ छक्का प्रहार गरे। जारी प्रतियोगितामा उनले यो दोस्रो अर्धशतक हो। यसअघि उनले कुवेतविरुद्ध ६६ रन बनाएका थिए।

अर्का ओपनर आसिफ शेख २० बलमा दुई चौका र एक छक्का प्रहार गर्दै २४ रनमा पेभिलियन फर्किए। गुलशनकुमार झा १८ र आदिल अन्सारी १६ रनमा आउट भए।

ओमानका नदिम खानले सर्वाधिक चार विकेट लिए। ४ ओभर बलिङ गरेका उनले २० रन खर्चिए। अब नेपालले सामोअ र ओमानले जापानसँग खेल्नेछ।