काठमाडौँ। जेन-जी आन्दोलनका क्रममा नेपाली सेनाले ६१ भीआईपीको हवाई उद्धार गरिएको जनाएको छ । सेनाका अनुसार नेपाल प्रहरीका २३ कर्मचारीको पनि हवाई उद्धार गरिएको र जमिनबाट १२९ जनालाई उद्धार गरिएको छ।
गत भदौ २३ र २४ गतेको आन्दोलन तथा घटनाक्रमबारे शुक्रबार सैनिक जनसम्पर्क निर्देशनालयले पत्रकार सम्मेलनमार्फत विस्तृत शब्दचित्र सार्वजनिक गरेको हो। भदौ २४ को घटनामा सेनाले तत्कालीन प्रधानमन्त्री केपी ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायत शीर्ष नेता र तिनका परिवारका साथै मन्त्रीहरुलाई उद्धार गरी सुरक्षित स्थलमा पुर्याएको थियो ।
पत्रकार सम्मेलनमा युद्धकार्य निर्देशक अनुपजंग थापाले सेनाको प्राथमिकता जनधनको सुरक्षा र राष्ट्रिय एकतामा रहेको जनाए। उनले भने, ‘सेनाले घातक शक्ति प्रयोग नगरेको छिटपुट सुन्नमा आएका छन्, तर हाम्रो स्पष्ट प्राथमिकता जनधन सुरक्षा र राष्ट्रिय एकता नै थियो।’
जेन-जी आन्दोलन र त्यसबाट उत्पन्न परिस्थितिका कारण कुल ७६ जनाको मृत्यु भएको थियो । सेनाका अनुसार २२ प्रदर्शनकारी, तीन प्रहरी र १० कैदीको ज्यान गएको उल्लेख छ । ४१ जनालाई भने अन्य भनिएको छ । सेनाले ४१ जनालाई अन्यको सूचीमा राख्दै उनीहरूको मृत्युको कारणमा प्रश्नसमेत उठाएको छ । योसँगै यी ४१ जना कोबाट मारिए भन्ने प्रश्नसमेत उठेको छ ।
सेनाले भाटभटेनीमा जल्ने तथा विभिन्न व्यक्तिका घरमा आगजनीका क्रममा जलेकाहरूलाई अन्यको सूचीमा राखेको हो । सेनाले ९७८ हतियार लुटिएकोमा ५८६ बरामद र फिर्ता भएको विवरण पनि सार्वजनिक गरेको छ ।