काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

३१ आश्विन २०८२
प्रदीप पौडेल
अ+
अ-

काठमाडौँ। नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले भ्रष्टाचार मौलाउँदा र जनताप्रति उत्तरदायी हुन नसक्दा जेन-जी विद्रोह भएको स्विकारेका छन्। सानेपामा जारी केन्द्रीय समिति बैठकमा शुक्रबार आफ्नो प्रस्ताव प्रस्तुत गर्दै उनले जेन-जी आन्दोलनलाई शंकाका रूपमा नहेरी त्यसले उठाएका मूल मुद्दाको सम्बोधनमा क्रियाशील हुनुपर्ने बताए।

आन्दोलनमा उठेको भ्रष्टाचार अन्त्य, सुशासन, आर्थिक विकास, युवा तथा रोजगारीजस्ता विषय जायज भएकाले यसलाई सम्बोधन गर्नु आवश्यक रहेको उनले बताए। ‘हामीले पूर्ण प्रजातान्त्रिक अभ्यास गर्न नसकेको, भ्रष्टाचार मौलाएको तथा जनताप्रति उत्तरदायी हुन नसकेका कारण युवाहरूबाट यो विद्रोह भएको अर्थमा बुझ्नु मुलुकका लागि हितकर हुनेछ,’ उनले भने।

उनले जेन-जीका माग सम्बोधन गर्न सकिए तरल अवस्थामा उत्पन्न हुने अस्थिरता र स्वार्थी तत्त्वको प्रवेश नियन्त्रण गर्न सकिनेसमेत बताएका छन्।

उनले संसारभर भएका र हुँदै गरेका युवा विद्रोहको स्पष्ट सन्देश सुदृढ लोकतन्त्र भएको उल्लेख गर्दै उनले कांग्रेसमा पुस्तान्तरण तथा रूपान्तरणको प्रस्ताव प्रस्तुत पनि गरेका छन्। जसका लागि वडादेखि केन्द्रसम्म युवा सहभागिता सुनिश्चित हुने गरी नेतृत्व छनोटको प्रस्ताव गरेका छन्। नेता पौडेलले नेतृत्व परिवर्तन मात्र नभई पुस्तान्तरणसहितको नेतृत्व परिवर्तनमा जोड दिएका छन्।

पौडेलले अहिलेको संघ, प्रदेश तथा स्थानीय सरकार खर्चिलो भएका कारण धान्न जटिल भएको र नागरिकमा असन्तुष्टि बढेको भन्दै पुनर्संरचनाको प्रस्ताव गरेका छन्। उनले प्रतिनिधिसभा सदस्य संख्या दुई सय एक कायम गर्नुपर्ने तथा मन्त्रिमण्डल बढीमा १५ जनाको बनाउनुपर्ने उल्लेख गरेका छन्। यसका साथै प्रदेशसभाको आकार ४० प्रतिशत कम गर्ने र प्रदेश मन्त्रिमण्डल बढीमा पाँच सदस्यीय बनाउने समेत पौडेलको प्रस्ताव छ।

स्थानीय तह पनि चार सयमा झारेर खर्च कटौती तथा प्रभावकारी सेवा दिन सकिने बताउँदै उनले जिल्ला समन्वय समितिको औचित्य नरहेको भन्दै खारेज गर्नुपर्ने उल्लेख गरेका छन्।

नेता पौडेलले स्थानीय तहमा उपाध्यक्ष तथा उपप्रमुखजस्ता पद बोझिलो देखिएको भन्दै त्यसमा समेत कटौतीको प्रस्ताव गरेका छन्।

यसैगरी नेता पौडेलले २०४६ पछि पदमा बसेका सबैको सम्पत्ति छानबिन गर्न प्रस्ताव गर्दै र स्रोत पुष्टि नभएको सम्पत्ति राष्ट्रीयकरण गर्नुपर्ने बताएका छन्।