३ कार्तिक २०८२
अ+
अ-

काठमाडौं। जेनजी आन्दोलनका क्रममा जलेर पूर्ण क्षति भएको भक्तपुरको प्रहरी वृत्त जगाती पुनर्निर्माण गरी हस्तान्तरण गरिएको छ।

भवन निर्माण समितिले पुनर्निर्माणपछि उपत्यका प्रहरी कार्यालयका कार्यालय प्रमुख (प्रहरी अतिरिक्त महानिरीक्षक) दानबहादुर कार्कीमार्फत नेपाल प्रहरीलाई सोमबार हस्तान्तरण गरेको हो।

हस्तान्तरण कार्यक्रममा भवन निर्माणमा सहयोग पुर्‍याउनेहरुलाई दोसल्लासहित सम्मानपत्र प्रदान गरिएको थियो। त्यस अवसरमा कार्कीले नागरिक एवं समुदायबाट प्रहरीलाई भएका सहयोग र सहकार्यका लागि सबैलाई धन्यवाद दिए। उनले समाज र नागरिकको अपेक्षाअनुरुप स्वच्छ, व्यावसायिक र पारदर्शी आचरण व्यवहार प्रस्तुत गर्दै मीठो बोलीवचन प्रयोग गरी नागरिकमैत्री प्रहरी सेवा प्रदान गर्न उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन पनि दिए।

साथै नागरिकलाई पेसा, व्यवसाय सञ्चालनका लागि भयरहित वातावरण सिर्जना गरी सङ्गठनको श्रीवृद्धिका खातिर निरन्तर लाग्दै जनमुखी प्रहरी सेवा प्रवाह गर्नसमेत प्रहरी अतिरिक्त महानिरीक्षक कार्कील निर्देशन दिए।

कार्यक्रममा भक्तपुरका प्रजिअ, जिल्ला प्रहरी परिसर भक्तपुरका प्रमुख प्रहरी उपरीक्षक, नेपाली सेना, सशस्त्र प्रहरी नेपाल, पुनर्निर्माण प्रहरी वृत्त जगाती भवन निर्माण समितिका पदाधिकारी, जनप्रतिनिधि, सहयोगदाता, सञ्चारकर्मी, नागरिक समाज, स्थानीय बासिन्दा, प्रहरी अधिकृतलगायतको उपस्थिति थियो।