काठमाडौं। काठमाडौंको बुढानिलकण्ठस्थित नेवा चुली रिसोर्टमा जुवा तास खेलिरहेको अवस्थामा नौ जना पक्राउ परेका छन्।
सोमबार राति करिब ११:३० बजे जिल्ला प्रहरी परिसर काठमाडौं र बुढानिलकण्ठ प्रभागबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले रिसोर्टमा छापा मारेको थियो।
जिल्ला प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक निर्मल पनेरू र बुढानिलकण्ठ प्रभागका प्रहरी निरीक्षक नारायणसिंह विष्टको नेतृत्वमा खटिएको १५ जनाको टोलीले घटनास्थलबाट २ लाख ३१ हजार नगद र १६ बुक तास बरामद गरेको उपत्यका प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ परेका नौ जनामध्ये रिसोर्टका सञ्चालक राकेश श्रेष्ठ समेत छन्। अन्य पक्राउ परेकाहरूमा सिन्धुपाल्चोक इन्द्रवती गाउँपालिका–८ घर भई हाल जोरपाटी बस्ने ३३ वर्षीय सुजन श्रेष्ठ,बुढानिलकण्ठ–१२ चुनिखेलका ३३ वर्षीय विकास श्रेष्ठ,बुढानिलकण्ठ–१२ का ३७ वर्षीय शुनिल श्रेष्ठ,स्याङ्जा चापागढ नगरपालिका–५ घर भई हाल बसुन्धरा बस्ने ३८ वर्षीय सुरज राना,सिन्धुली हरीहरपुर गाउँपालिका–१ घर भई हाल सोह्रखुट्टे बस्ने २७ वर्षीय नामगेल भोलान, काठमाडौं महानगरपालिका–१६ मैतीदेवीका ४२ वर्षीय रामशंकर पराजुली,धनुषा मिथिला नगरपालिका–९ घर भई हाल चुनिखेल बस्ने ३७ वर्षीय जितेन्द्र तामाङ र बुढानिलकण्ठ–१३ चुनिखेलका ४१ वर्षीय जयकुमार श्रेष्ठ रहेका छन्।
घटनास्थल बुढानिलकण्ठ प्रहरी प्रभाग कार्यालयबाट करिब चार किलोमिटर दक्षिण–पूर्वतर्फ रहेको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूमाथि जुवाताससम्बन्धी प्रचलित कानुन अनुसार आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।