क्रिकेट
घरेलु श्रृंखलामा आशा देखाएको नेपाली टोलीका ब्याटरहरू विदेशी भूमिमा निराशाजनक प्रर्दशन दोहोर्याइरहेका छन्।
नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल दुई साताअघि नेदरल्यान्ड्स भ्रमणमा निस्किनुअघि आत्मविश्वासी देखिन्थे। उनले टोलीको तयारी र पछिल्ला प्रदर्शनप्रति सन्तुष्टि व्यक्त गर्दै भनेका थिए, “हामीले ब्याटिङ युनिटका रूपमा राम्रो टेम्प्लेट बनाएका छौँ। नेदरल्यान्ड्स र नामिबिया दुवै टोलीलाई हराउन सक्छौँ भन्ने विश्वास छ।”
रोहितको यस भनाइमा केही आधार पनि थियो। उनकै कप्तानीमा नेपालले गत अप्रिल-मेमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सम्पन्न आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत ओमान, संयुक्त अरब इमिरेट्स (यूएई), स्कटल्यान्ड र अमेरिकाविरुद्ध खेलेका आठमध्ये ६ खेल जित्दै उत्कृष्ट प्रदर्शन गरेको थियो। सँगै नेदरल्यान्ड्स प्रस्थानअघि जर्सीविरुद्धको दुई खेलको एकदिवसीय सिरिज पनि ‘क्लिन स्विप’ गर्दै नेपालले लय समातेको संकेत दिएको थियो।
तर, हाल नेदरल्यान्ड्समा जारी आईसीसी क्रिकेट विश्वकप लिग-२ मा नेपाली टोलीले अपेक्षाविपरीत निराशाजनक प्रदर्शन गरिरहेको छ। घरेलु टोली नेदरल्यान्ड्स र नामिबियाविरुद्धका महत्त्वपूर्ण खेलमा दुवैमा हार बेहोरेको नेपालको विश्वकप छनोटमा सोझै छनोट हुने र ओडीआई स्टेटस सुरक्षित गर्ने दुवै अवसर दबाबमा छ।
जारी खराब प्रदर्शनको मुख्य कारण ब्याटिङ नै रहेको कप्तान रोहित पनि स्विकार्छन्। “दुवै खेलमा खराब ब्याटिङ गर्यौँ। ब्याटिङ युनिटका रूपमा हामी पूरै असफल भएका छौँ,” उनी भन्छन्।
गुमेको लय
नेपाली टोलीले घरेलु मैदानमा लगातार प्रभावशाली प्रदर्शन गरेपछि नेदरल्यान्ड्स भ्रमणमा पनि त्यही लयलाई निरन्तरता दिने अपेक्षा गरिएको थियो। त्यसैले मुख्य प्रशिक्षक स्टुअर्ट लले कुनै ठूलो परिवर्तन गर्न चाहेनन्। तर, विदेशी मैदानमा त्यस निर्णयले अपेक्षित परिणाम दिन सकेन।
घरेलु शृंखलामा सफलताको आधार बनेका मुख्य ब्याटरहरू नेदरल्यान्ड्समा असफल भएका छन्। अघिल्ला आठमध्ये चार खेलमा चार अर्धशतक र एक शतक प्रहार गरेर टोलीको मेरुदण्ड बनेका उपकप्तान दीपेन्द्रसिंह ऐरी मात्र होइन, ओपनरद्वय कुशल भुर्तेल र आशिफ शेख पनि रन बनाउन निरीह देखिए। घरेलु सिरिजबाट नम्बर ३ मा ब्याटिङको अवसर पाएका इशान पाण्डेसँगै कप्तान रोहितको ब्याट पनि शान्त रहँदा समग्रमा पूरै ब्याटिङ क्रम नै संकटमा फसेको छ।
फलस्वरूप घरेलु मैदानमा देखिएको आत्मविश्वास, निरन्तरता र ‘मोमेन्टम’ नेदरल्यान्ड्स पुग्दा हराएको छ। ब्याटिङको सामूहिक असफलताले नेपालले प्रतिस्पर्धात्मक स्कोर बनाउन नसक्दा त्यसको प्रत्यक्ष असर टोलीको नतिजामा परेको छ। सोही कारण नेपाल पहिलो खेलमा नामिबियासँग आठ र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित हुन परेको थियो। “बोर्डमा ठूलो स्कोर नहुँदा पनि बलरहरूले फाइट गरेका छन्। तर, दुवै खेलमा हाम्रा शीर्ष चारका ब्याटर चुकेका छन्,” कप्तान रोहित भन्छन्।

नेदरल्यान्ड्सविरुद्ध विकेट लिएपछि नेपाली टोली।
यतिबेला नेपालको शीर्षक्रमको ब्याटिङले सबैलाई चिन्तित तुल्याएको छ। ओपनर कुशलले दुई खेलमा जम्मा ११ रन मात्र जोडेका छन्। अर्का ओपनर आशिफले दुई इनिङ्समा ३० रन बनाए पनि टोलीलाई बलियो सुरुआत दिलाउन सकेका छैनन्।
तेस्रो नम्बरमा अवसर पाएका इशानले पनि विश्वासअनुसार प्रदर्शन गर्न सकिरहेका छैनन्। नामिबियाविरुद्ध आठ रन र नेदरल्यान्ड्सविरुद्ध मात्र चार रन जोड्दै उनी पभेलियन फर्किएका छन्। कप्तान रोहितले नामिबियाविरुद्ध ३१ रनको संघर्षपूर्ण इनिङ खेले पनि नेदरल्यान्ड्सविरुद्ध त्यस्तै परिस्थितिमा तीन रनमै विकेट गुमाएका छन्।
उपकप्तान दीपेन्द्रले दुई इनिङ्समा ५१ रन जोड्दै केही हदसम्म योगदान दिएका छन्। नामिबियाविरुद्ध शून्यमै आउट भएका आरिफ शेखले भने नेदरल्यान्ड्सविरुद्ध ९० बलमा ४१ रन बनाउँदै मध्यक्रममा आफ्नो महत्त्व फेरि प्रमाणित गरेका छन्। आरिफकै संयमित इनिङ्सको आधारमा नेपालले घरेलु टोलीसामु १५८ रनको लक्ष्य प्रस्तुत गर्न सफल भएको थियो।

उपकप्तान दीपेन्द्रसिंह ऐरी।
कमजोर नेपाल
आईसीसी क्रिकेट विश्वकप लिग-२ का शीर्ष चार टोलीले अर्को वर्ष दक्षिण अफ्रिका, जिम्बाबे र नामिबियाले संयुक्त रूपमा आयोजना गर्ने विश्वकपका लागि हुने छनोट प्रतियोगितामा सोझै स्थान बनाउनेछन्। सन् २००१, २०१४, २०१८ र २०२३ गरी चार पटक विश्वकप छनोट खेले पनि विश्वकपको यात्रा तय गर्न नसकेको नेपालको यसपटकको लक्ष्य भने फरक थियो, लिग-२ को शीर्ष चारमा रहेर सोझै छनोटमा पुग्ने।
तर, हालैका अनपेक्षित प्रदर्शनले नेपालको यो लक्ष्य कठिन बनेको छ। लिग-२ मा ६ खेल खेल्न बाँकी रहँदा नेपालको खातामा जम्मा २४ अंक मात्र छ। अंकतालिकामा नेपालभन्दा अगाडि अमेरिका, स्कटल्यान्ड, नेदरल्यान्ड्स र ओमान छन्। उनीहरूको अंक क्रमशः ४३, ३८, ३४ र ३१ छ। अझ चुनौती त के भने, नेदरल्यान्ड्सले नेपालभन्दा एक र ओमानले दुई खेल कम खेलेका छन्।

नेदरल्यान्ड्सविरुद्धको खेलमा नेपाली खेलाडीलाई हौसला दिँदै नेपाली समर्थक।
अर्कातर्फ नेपाललाई पछ्याइरहेको नामिबियाले पनि २९ खेलबाट २४ अंक जोडिसकेको छ। २८ खेल खेलेको क्यानडाको पनि समान २४ अंक छ। नेपालभन्दा ६ खेल कम खेलेको यूएईको खातामा १४ अंक छ।
अब नेपालले ओमानसँगै नामिबिया र क्यानडालाई पछि पार्दै शीर्ष चारमा स्थान सुरक्षित गर्नुपर्नेछ, जसका लागि बाँकी खेलमा लगातार जित निकाल्दा पनि अन्य टोलीको नतिजामा भर पर्नुपर्ने देखिन्छ।
बलिया विदेशी
लिग-२ मा सहभागी आठै टोलीको मुख्य लक्ष्य विश्वकप यात्रा तय गर्नु हो। त्यसैले यी टोली लिग-२ का खेलमा मात्र सीमित छैनन्, अन्य बलिया राष्ट्रसँग खेल्दै आफ्नो स्तर र तयारीमा निरन्तर सुधार गरिरहेका छन्। अझ पछिल्लो समय नेपालले टी-२० विश्वकपमा दुईपल्टको विजेता इङ्ल्यान्डलाई समेत बलियो चुनौती दिएको तथ्य ताजै छ। यही कारण पनि लिग-२ का बाँकी सात एसोसिएट राष्ट्रले नेपालविरुद्ध विशेष तयारीसहित मैदानमा उत्रने गरेका छन्।
नेपालका प्रत्येक ब्याटरको बलियो र कमजोर पक्षबारे विपक्षी टोलीहरू जानकार भइसकेका छन्। त्यसैले नेपालविरुद्ध खेल्न विपक्षीलाई कठिन नरहेको राष्ट्रिय टोलीका पूर्वसदस्य एवं नेपाल पुलिस क्लबको क्रिकेट टोलीका मुख्य प्रशिक्षक मञ्जित श्रेष्ठ बताउँछन्। “हामीले लामो समयदेखि लगभग एउटै टोली खेलाउँदै आएका छौँ। यसले विपक्षीलाई हाम्रो खेलशैली र कमजोरी बुझ्न सजिलो बनाएको छ,” श्रेष्ठ भन्छन्।
यसको उदाहरण अघिल्लो लिग-२ चक्रमा नामिबियाविरुद्धका खेलहरूले पनि देखाउँछन्।

नेट अभ्यास गर्दै ओपनर आरिफ शेख।
सन् २०१९-२०२३ को लिग-२ चक्रमा नेपालले नामिबियासँग ६ खेल खेलेको थियो। सुरुआती तीन खेलमा नेपालले ४०, ९० र ६८ रनको हार बेहोरेको थियो भने एउटा खेल बराबरीमा टुंगिएको थियो। तर, ओडीआई मान्यता जोगाउनैपर्ने निर्णायक अवस्थामा नेपालले टोलीमा केही परिवर्तन गर्दै सन्दीप जोरा र कुशल मल्ललगायत खेलाडीलाई अवसर दिएको थियो। त्यसपछि नेपालले नामिबियाविरुद्ध रोमाञ्चक दुई विकेटको जित निकालेको थियो भने अर्को खेलमा पनि तीन विकेटको सफलता हात पारेको थियो।
तर, यसपटकको सन् २०२४-२०२७ चक्रमा नामिबियासँग भएका तीनवटै भेटमा नेपाल सहजै पराजित भएको छ। अब नेपालले सोमबार यही टोलीसँग चौथो खेल खेल्नेछ भने बुधबार नेदरल्यान्ड्सविरुद्ध खेलेपछि भ्रमण समाप्त गर्नेछ। तर, अघिल्ला नतिजाले यी खेल सहज नहुने देखाउँछन्।
यस्तो अवस्थामा ‘बेन्च स्ट्रेन्थ’ लाई पनि अवसर दिनुपर्ने श्रेष्ठको सुझाव छ। “राष्ट्रिय टोलीका सबै खेलाडी प्रतिभावान् छन्। यदि दुईतीन खेलसम्म कुनै खेलाडीले अपेक्षित प्रदर्शन गर्न सकेनन् भने अर्को खेलाडीलाई मौका दिनु उपयुक्त हुन्छ,” उनी भन्छन्, “आवश्यकताअनुसार टोलीमा परिवर्तन गर्दै जानु दीर्घकालीन रूपमा फाइदाजनक हुन्छ।”