क्रिकेट
ओमानमा भएको टी–२० विश्वकप छनोटमा एक रनले पराजित गरेको कारण यूएईभन्दा नेपाल केही माथि देखिन्छ।
नेपाली राष्ट्रिय क्रिकेट टोली फेरि त्यही मोडमा आइपुगेको छ, जहाँ दुई वर्षअघि उभिएको थियो। आईसीसी विश्वकप लिग-२ को निरन्तरता र स्थायित्व खोज्दै आएको यस टोलीले सन्तोषजनक प्रदर्शन गर्न सकेको छैन।
लिगका १६ खेल सकिँदा पाँच जित, नौ हार र दुई बराबरीको नतिजासहित १२ अंकका साथ नेपाल तालिकाको सातौँ स्थानमा छ। तर, राष्ट्रिय टोलीको कथा यत्तिमै सकिँदैन। यही टोली चार महिनापछि फेरि मैदानमा फर्किँदै छ, उही लक्ष्य तर फरक मनोविज्ञान बोकेर।
घरेलु टोली संयुक्त अरब इमिरेट्स (यूएई) र अमेरिकासँग खेल्दै पुनरागमन गर्ने लक्ष्य लिएको टोलीका कप्तान रोहितकुमार पौडेल बताउँछन्।
यूएई उड्नुअघि उनले भनेका थिए, “टिम सन्तुलित छ। मानसिकता पनि सकारात्मक छ। राम्रो नतिजा ल्याउँछौँ।” सन् २०२३ मा नेपालले चामत्कारिक नतिजा निकाल्दै पुनरागमनको कथा रचेको थियो। घरेलु मैदानमा स्कटल्यान्ड र नामिबियालाई पराजित गरेको नेपालले १२ मध्ये ११ खेल जितेर असम्भवप्राय: मानिएको एकदिवसीय विश्वकप छनोट र २०२७ सम्मका लागि एकदिवसीय मान्यता जोगाउन सफल भयो।
यो नतिजासँगै नेपाली खेलाडी उत्साहित थिए। तर, त्यो उत्साह धेरै टिकेन। छनोटमा नेपाल अस्थिर रह्यो, त्यसपछिको अन्तर्राष्ट्रिय व्यस्ततालाई टिमले सम्हाल्न सकेन। यही अस्थिरतालाई कप्तान रोहित अब स्थायित्वमा रूपान्तरण गर्ने प्रयासमा छन्। “हामीले गत महिना अस्ट्रेलियामा पनि खेल्यौँ र बीचमा केही अभ्यास गर्यौँ। यसले नतिजामा फरक पार्नेछ,” उनी भन्छन्। उनको स्वरमा आत्मविश्वास मिसिएको छ। तर, टोलीको प्रदर्शन ठ्याक्कै कस्तो हुन्छ, भन्न सकिने अवस्था छैन।
चारमहिने ‘ब्रेक’ मा नेपालले ५० ओभरको खेल खेल्न पाएको छैन। जति खेलेको छ, ती सबै छोटा फर्म्याटका खेल हुन्। नतिजा पनि मिश्रितभन्दा माथि छैन। अस्ट्रेलियामा गरिएको छोटो तयारी भ्रमणमा टोलीले राम्रो नतिजा ल्याउन सकेको थिएन। टप इन्ड टी–२० शृंखलाका ६ मध्ये दुई खेल मात्र जितेको थियो। लगत्तै यूएईको सारजहा अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पहिलोपल्ट टेस्ट राष्ट्रसँग शृंखला खेल्दै लगातार जितेको टोलीले अन्तिम खेलमा १० विकेटको फराकिलो हार बेहोरेको थियो। तर, ओमानमा भएको आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटका सबै ६ खेल जित्न सफल भएको थियो।
तीन खेलाडीको पुनरागमन
विश्वकप छनोट खेलेको टोलीबाट मुख्य प्रशिक्षक स्टुअर्ट लले सन्दीप जोरा, लोकेश बम र आदिल आलमलाई बाहिर राखेका छन्। लामो समयपछि राष्ट्रिय टोलीसँग यूएई र ओमान गएका जोराले अन्तिमपल्ट २०२३ मा घरेलु मैदानमा स्कटल्यान्डसँग भएको लिग-२ को खेल खेलेका थिए। त्यसयता उनले एकदिवसीय टोलीमा स्थान बनाउन सकेका छैनन्। वेस्ट इन्डिजविरुद्धको टी–२० आई शृंखलाको दोस्रो खेलमा ६३ रन बनाएर आशा जगाएका उनी त्यसपछिका खेलमा चल्न सकेनन्। त्यसपछिका पाँच खेलमा २९ रन मात्र बनाउन सकेपछि उनी बाहिरिएका हुन्। उनी बाहिरिएसँगै टोलीमा भीम सार्कीले पुनरागमन गरेका छन्। लामो फर्म्याटमा टिकेर खेल्न सक्ने खुबी भएका उनले ११ इनिङ्समा एक अर्धशतकसहित २६२ रन बनाएका छन्। उनी नेपालका लागि सर्वाधिक रनकर्ताको सूचीमा पाँचौँ नम्बरमा छन्।

ओमानमा भएको टी-२० विश्वकप छनोटमा नेपालका खेलाडी। तस्बिर : क्यान
उनीबाहेक केही खेलमा ओपनिङ गरेका अनिलकुमार साह पनि लामो समयपछि टोलीमा फर्किएका छन्। औँलाको चोटका कारण उनी टोलीबाहिर थिए। यी दुईबाहेक एकदिवसीय फर्म्याटमा डेब्युको पर्खाइमा रहेका स्पिनर शाहब आलम पनि अटाएका छन्।
सन् २०२१ मा त्रिवि क्रिकेट मैदानमै भएको नेदरल्यान्ड्सविरुद्धको टी-२० आई खेलमा डेब्यु गरे पनि उनले लामो फर्म्याटमा खेल्न पाएका थिएनन्। तर, पछिल्लो समय यो फर्म्याटमा उत्कृष्ट प्रदर्शन गर्दै आएका बलर हुन्। गत वर्ष भएको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा ३१ विकेट लिँदै उनी सर्वाधिक विकेटकर्ताको सूचीमा दोस्रो नम्बरमा अटाएका थिए।
लिग-२ को अंकतालिकाको शीर्ष चारमा रहने टोलीले सन् २०२७ को एकदिवसीय विश्वकप छनोटमा स्थान बनाउनेछ। तर, पुछारका चार टिमले प्लेअफ खेल्न पाउनेछन्। यो बाटो घुमाउरो छ। अर्कातर्फ एकदिवसीय मान्यता पनि खतरामा पर्नेछ। त्यसैले पुनरागमन गर्नैपर्ने दबाबमा रहँदा मुख्य प्रशिक्षक लले टोलीलाई नयाँ संयोजनका दृष्टिले उपयोगी बनाउने प्रयास गरेका छन्। त्यहीँबाट प्राप्त अनुभवले आगामी चक्रका खेलमा केही नतिजा ल्याउने आशा गरिएको छ।
नेपाल अहिले मध्यक्रममा अत्यधिक निर्भर भइरहेको छ। आरिफ शेखले ११ इनिङ्समा तीन अर्धशतकसहित सर्वाधिक ३८४ रन बनाएका छन्। यता, एक स्थान तल झरेका कप्तान रोहितले २८२ रन बनाएका छन्। यीबाहेक दुई ओपनरले ठीकठाक प्रदर्शन गरे पनि दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले भने लय समात्न सकेका छैनन्।
हेड टु हेड
गत संस्करणमा लिग-२ को पाँचौँ स्थानमा सीमित अमेरिका यसपल्ट भने राम्रो लयमा छ। लगभग आधा खेल खेलिसक्दा अमेरिकाले १४ जितसहित २८ अंक जोडिसकेको छ। यो टोली लगातार ६ खेलमा अपराजित छ। नेपालसँग पनि अमेरिकाको रेकर्ड उस्तै छ। गत वर्ष भएका दुवै खेलमा अमेरिकाले नेपालाई तीन विकेट र ३७ रनले पराजित गरेको थियो। हालसम्म भएका नौमध्ये चार खेल नेपालले जित्दा एक खेल ‘टाई’ भएको छ।

ओमानमा भएको टी-२० विश्वकप छनोटअन्तर्गत यूएईविरुद्धको खेलमा टसका क्रममा नेपाल र यूएईका कप्तान। तस्बिर : क्यान
यस्तै, यूएई भने ६ अंकसहित तालिकाको पुछारमा छ। पछिल्लोपल्ट स्कटल्यान्डलाई ९७ रनले पराजित गरेको यस टोलीले पछिल्ला दुई खेलमा नेदरल्यान्ड्ससँग पाँच र स्कटल्यान्डसँग आठ विकेटको हार बेहोरेको थियो। त्यसैले यूएई पनि नेपालजस्तो पुनरागमन गर्ने लक्ष्यका साथ मैदान उत्रिने पक्का छ।
तर, यस टोलीले पछिल्लो समय नेपालविरुद्ध ३१ महिनादेखि कुनै जित हात पार्न सकेको छैन। अन्तिमपल्ट २ मार्च २०२३ मा घरेलु मैदानमा भएको शृंखलामा यूएईले नेपाललाई ६८ रनले पराजित गरेको थियो।
त्यसयता भएका पाँच खेलमा नेपाल अपराजित छ। ओमानमै भएको टी–२० आई विश्वकपमा समेत एक रनले पराजित गरेको कारण नेपाल केही माथि देखिन्छ।