७ कार्तिक २०८२
फाइल :तस्बिर
अ+
अ-

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले बुधबार बिहान सपरिवार पशुपतिनाथ मन्दिरमा गरेको दर्शनपछि लिइएको तस्बिरलाई लिएर भ्रम फैलाउने दुष्प्रयास रहेको उनको सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार मन्त्री अर्यालले मन्दिर दर्शन गर्दा धार्मिक परम्परा र नियमको पूर्णपालना गरेका थिए। मन्दिरभित्र छालाको जुत्ता लगाएर प्रवेश गरेको भनिँदै सामाजिक सञ्जालमा आएका टिप्पणीहरू तथ्यहीन र नियोजित प्रचारबाजी भएको सचिवालयको भनाइ छ।

मन्त्रीका स्वकीय सचिव धीरज जोशीका अनुसार सो तस्बिर मन्दिर दर्शनपछि दक्षिणतर्फको सडकमा खिचिएको हो, जहाँ जुत्ता लगाउन र फोटो खिच्न मिल्छ। “गृहमन्त्रीले विधिपूर्वक दर्शन गरे र बाहिर निस्केपछि मात्र तस्बिर खिचिएको हो,” जोशीले स्पष्ट पारे।

सचिवालयले धार्मिक आस्थासँग जोडिएका विषयमा भ्रम फैलाउने प्रयास नगर्न र गलत सूचना सम्प्रेषण नगराउन सबैलाई अनुरोध गरेको छ।