काठमाडौं। महाराजगञ्ज वृत्त र कोटेश्वर प्रभागका प्रहरी हत्याको आरोपमा थप चार जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा तनहुँका राजीव गुरुङ, युनिक श्रेष्ठ, सर्लाहीका सुमित तितुङ र रामेछापका दीपक मगर रहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। उनीहरूलाई काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरिएको परिसर प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले बताए।
पक्राउ पर्नेमध्ये राजीव र युनिक महाराजगञ्ज वृत्तका प्रहरी सहायक निरीक्षक ९असई० मिलन राय र जवान उत्तम थापाको हत्यामा संलग्न रहेको भट्टराईले बताए।
सुमित, दीपक र अनुपम कोटेश्वरस्थित प्रहरी प्रभागका हवल्दार अमृत गुरुङको हत्यामा संलग्न रहेको भट्टराईले बताए।
यसअघि महाराजगञ्ज वृत्तका प्रहरी हत्या आरोपमा सोमबहादुर गुरुङ, होमप्रसाद पौडेल, २८ वर्षीय टिकाराम विक, बुद्धिलाल तामाङ र युवराज क्याप्छाकी पक्राउ परेका थिए। पक्राउ परेकामध्ये चार जनालाई अदालतले पुर्पक्षका लागि कारागार चलान गरिसकेको छ।
पछिल्लो पटक पक्राउ परेका पाँच जनालाई अदालतमा पठाउने तयारी भइरहेको भट्टराईले बताए।