काठमाडौं। सूर्य उपासना, स्नान, व्रत र भजनसंगीतसँग जोडिएको छठ काठमाडौँमा श्रद्धा र भक्तिभावका साथ सम्पन्न भएको छ।
पर्व सम्पन्न भएसँगै काठमाडौँ महानगरपालिकाले घाट, पोखरी, दह तथा नदी किनारहरूमा विशेष सरसफाइ कार्य तदारुकतासाथ सम्पन्न गरेको छ।
यस वर्षका लागि काठमाडौँ महानगरभित्र कमलपोखरी (वडा १), गौरीघाट (वडा ७ र ८), बोक्सी दह (वडा १४), बागमती दोभान (वडा ३२), टंकेश्वर (वडा १३), बल्खु कुमारी क्लब अगाडि (वडा १४), कुलेश्वर भलिबल ग्राउन्ड (वडा १४), रामघाट (वडा २०) र बालाजु २२ धारा (वडा १६) गरी नौ वटा घाटलाई मुख्य उपासना स्थलका रूपमा तयारी गरिएको थियो । तिनै स्थानहरूमा स्वच्छता कायम गर्न महानगरले विशेष सरसफाइ गरेको छ ।
महानगरका सफाइ कर्मचारी र महानगर प्रहरी परिचालन गरी पोखरी, ताल र नदी किनारमा रहेका फोहर पूर्ण रूपमा हटाइएको छ । सूर्य उपासनाको यो पर्व भव्य र सुरक्षित वातावरणमा सम्पन्न गराउन महानगरले यसअघि नै व्यापक तयारी गरेको थियो। जनप्रतिनिधिको नेतृत्वमा स्थानीय संघसंस्था, क्लब र सरोकारवालासँग समन्वय गरी उपासनास्थलहरूमा सरसफाइ, उज्यालो, सुरक्षा र अन्य आवश्यक व्यवस्थाको तयारी गरिएको थियो।