काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१६ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। झापाको शिवसताक्षी नगरपालिका १० का ३३ वर्षीय सरोज शर्माको अपहरणपछि हत्या आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय झापाले आइतबार पत्रकार सम्मेलन गरी पक्राउ परेका दुवैलाई सार्वजनिक गर्‍यो।
झापा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) खगेन्द्रबहादुर खड्काका अनुसार शिवसताक्षी नगरपालिका १० का २७ वर्षीय सुनील साह र २३ वर्षीय राहुल साहलाई सार्वजनिक गरियो। प्रहरीका अनुसार सुनीललाई विराटनगर महानगरपालिका रानी र साहलाई उनकै घरबाट पक्राउ गरिएको थियो।

खड्काका अनुसार पक्राउ परेका सुनील मामा र राहुल भान्जा नाता पर्ने हुन्। शर्माको शव शनिबार बिहान झापा गाउँपालिका ५‚ हुलाकी मार्गमा पर्ने बिरिङ खोलाको पुलमुनि गाडेको अवस्थामा भेटिएको थियो।

१३ कात्तिकमा शर्माको किया कम्पनीको सेल्टस कार मेचीनगर नगरपालिका १३‚ निचाझोडा सिमसार जंगल क्षेत्रमा जलिरहेको अवस्थामा भेटिएपछि प्रहरी अनुसन्धानमा जुटेको थियो। कार जलेको घटना अनुसन्धान गर्दै जाँदा प्रहरीले शर्माको शव बिरिङ खोलाको पुलमुनि गाडिएको अवस्थामा फेला पारेको थियो।

योजना सुन किनबेच, अपहरणपछि हत्या
डीएसपी खड्काका अनुसार शर्मा काठमाडौंको आईटी कम्पनीमा कार्यरत थिए। उनी दसैँतिहार मनाउन आफ्नो घर झापा शिवसताक्षी गएका थिए। पक्राउ परेका मामा-भान्जा शर्माका छिमेकी हुन्।

चाडबाड मनाउन आएका बखत शर्मा र पक्राउ परेका मामा-भान्जाबीच कुराकानी भएको थियो। त्यस क्रममा शर्माले सस्तोमा सुन पाए आफूले किन्ने र काठमाडौंमा चिनजान रहेका मानिसलाई पनि किनाइदिने वचन दिएका थिए।

पारिवारिक अवस्था दर्बिलो भएका शर्माले सुन किन्ने भनेपछि मामा-भान्जा लोभिएका थिए। “यसपछि मामा-भान्जाले शर्मासँग पैसा रहेको सुइँको पाएर अपहरण गर्ने योजना बनाए,” खड्का भन्छन्।

उनीहरूले अपहरण गरेर शर्मासँग भएको पैसा लुट्ने र अपहरण गरी भारत पुर्‍याएर आफन्तसँग फिरौती माग्ने योजना बनाएका थिए। योजनाअनुसार ९ कात्तिकमा मामा-भान्जाले ‘सुन गाडेर राखेका छौँ’ भन्दै अर्जुनधारा नगरपालिका ४‚ दहिझोडा सामुदायिक वनमा शर्मालाई बोलाए। शर्मा कार लिएर त्यहाँ पुगे। पुग्दा सुन गाडिएको थिएन। मामा-भान्जाले टाउकोमा हथौडा प्रहार गरे। त्यसले शर्माको प्राण गयो।

यसपछि फिरौती असुल्ने योजना असफल भयो। मामा-भान्जा शव व्यवस्थापनमा जुटे। शर्माको शव उनकै कारमा हालेर बिरिङ खोलाको पुलमुनि जमिनमा गाडे। शव गाडेपछि त्यही रात कार लगेर मेचीनगर नगरपालिका‍ १३‚ निचाझोडा जंगलमा लुकाए।

राति घर पुगे। भोलिपल्ट १० कात्तिक बिहानसम्म मामा-भान्जा आफ्नै घरमा थिए। शर्माका परिवार उनको खोजीमा जुटिरहेका थिए। प्रहरीमा खोजी गर्न भन्दै निवेदन दिइसकेको मामा-भान्जाले थाहा पाए। “हत्या गरेको पोल खुल्ने डर उत्पन्न भएपछि उनीहरूले तीन दिनसम्म जंगलमा कार लुकाएर राखे। प्रहरीले खोजी गरेको सुइँको पाएपछि कार १३ कात्तिकको राति लुकाएकै जंगलमा जलाए,” खड्का भन्छन्।

कार जलाउँदा सुनीलको हातमा चोट लाग्यो। कार जलाएर भान्जा राहुल घरमै गए। सुनील भने पोलिएको हातको उपचार गर्न बिर्ताबजारको एउटा क्लिनिकमा पुगे। क्लिनिकमा सामान्य उपचारपछि उनी भागेर इटहरी हुँदै विराटनगर पुगे। उनको योजना सीमावर्ती रानी हुँदै भारत भाग्ने थियो। तर, उनलाई कोसी प्रदेश प्रहरीको टोलीले रानीबाट १४ कात्तिकमा पक्राउ गर्‍यो। उनी पक्राउपछि मामा-भान्जा दुवैको पोल खुल्यो।

चप्पलको सहायतामा मामाको खोजी, भान्जा थिए घरमै
डीएसपी खड्काका अनुसार कार जलेको स्थाननजिकै मामा सुनीलको एउटा चप्पल फेला परेको थियो। चप्पल फेला परेपछि प्रहरीले शर्माको मोबाइलको कल-डिटेल हेर्‍यो। कल-डिटेल हेर्दा उनीसँग घटनाअघि सघन सम्पर्क मामा-भान्जासँग रहेको पत्ता लाग्यो।

कार जलाउँदा हातमा चोट लागेका सुनील उपचारमा बिर्ताबजारसम्म पुगेको देखियो। मोबाइल लोकेसन हेर्दै जाँदा उनी इटहरीबाट दक्षिणतर्फ विराटनगर हिँडेको पत्ता लाग्यो।

दुवैको खोजीमा कोसी प्रदेश प्रहरी कार्यालयको विशेष टोली, जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय झिलझिलेको खटिइसकेको थियो। यसक्रममा सुनीललाई विराटनगरस्थित नेपाल-भारतको सीमावर्ती रानी क्षेत्रबाट पक्राउ गर्‍यो भने राहुललाई उनकै घरमा फेला पार्‍यो। “फिरौती रकम माग्ने योजना बनाउँदा बनाउँदै शर्माको मृत्यु भएपछि उनीहरू शव व्यवस्थापनदेखि कार जलाउने योजनामा पुगेको देखिन्छ,” खड्का भन्छन्।

डीएसपी खड्काका अनुसार घटनामा एकजना भारतीयको सहयोग लिएको खुलेको छ। ती भारतीयको खोजी भइरहेको छ। “पक्राउ परेका दुवैलाई अपहरण, कर्तव्य ज्यान मुद्दामा झापा जिल्ला अदालतबाट सात दिन थुनामा राख्ने अनुमति लिएर अनुसन्धान थालिएको छ,” उनले भने।