काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१९ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। भारतमा मंगलबार राति एक यात्रुवाहक र मालवाहक (कार्गो) रेल ठोक्किँदा कम्तीमा ११ जनाको निधन भएको छ। दुर्घटना छत्तीसगढ राज्यको राजधानी रायपुरबाट करिब ११५ किलोमिटर उत्तरपूर्वमा अवस्थित बिलासपुर नजिक भएको हो।

वरिष्ठ सरकारी अधिकारी सञ्जय अग्रवालका अनुसार यात्रु रेलले कार्गो रेललाई पछाडिबाट ठक्कर दिएको थियो। ठक्करपछि यात्रु रेलका कोचमध्ये एक मालवाहकमाथि चढेको थियो।

उद्धारकर्ताहरूले घण्टौँको अथक प्रयासपछि उक्त कोचलाई भुइँमा ल्याई फलाम काट्ने यन्त्रको सहयोगले भित्र अड्किएका शवहरू निकाल्न सफल भएका थिए। उहाँका अनुसार थप तीनजना यात्रुका शव त्यहीँ फेला परेका थिए।

बुधबार बिहानसम्म उद्धार कार्य सकिएको र दुर्घटनास्थल हुँदै रेल आवागमन पुनः सुरु गरिएको अधिकारी अग्रवालले बताए। उनका अनुसार मृतकमध्ये यात्रु रेलका लोकोपाइलट (रेल चालक) पनि छन् भने गम्भीर रूपमा घाइते सहलोकोपाइलट महिलाको निजी अस्पतालमा उपचार भइरहेको छ।

दुर्घटनामा करिब २० जना यात्रु घाइते भएको प्रारम्भिक विवरणमा जनाइएको छ। सबैलाई नजिकैका अस्पतालमा उपचारका लागि पठाइएको छ।

भारतीय रेल प्रशासनले एक विज्ञप्ति जारी गर्दै घटनाको कारणबारे विस्तृत अनुसन्धान सुरु भएको जनाएको छ। साथै, मृतक र घाइतेका परिवारजनलाई आर्थिक सहयोग प्रदान गरिने प्रतिबद्धता पनि जनाएको छ।