काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

वाम राजनीति

१० दल मिलेर बन्यो नेपाली कम्युनिस्ट पार्टी

१९ कार्तिक २०८२
माधवकुमार नेपाल र इन्सेटमा धनश्याम भुसाल र रामकुमारी झाँक्री। तस्बिर : नेपाल फोटो लाइब्रेरी
अ+
अ-

नेकपा (एमाले)बाट विभाजित हुँदा त्यो दलका सांसदहरूको एउटा टोली २ भदौ २०७८ मा बहादुरभवनस्थित निर्वाचन आयोगको कार्यालयमा पुगेको थियो। त्यतिखेर पार्टी विभाजनको नेतृत्व गरिरहेका थिए पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल। युवा नेत्री रामकुमारी झाँक्रीले नेपालको हात समातेर डोर्‍याउँदै निर्वाचन आयोगभित्र लगेको दृश्यले धेरैको ध्यान खिचेको थियो।

तर, त्यसको चार वर्ष दुई महिना १८ दिन अर्थात् १९ कात्तिक २०८२ मा बहादुरभवनको त्यो दृश्यमा १८० डिग्रीको परिवर्तन देखिएको छ। एमाले विभाजन गरेर नेकपा (एकीकृत समाजवादी) बनाएका नेपाल भृकुटीमण्डपमा नेपाली कम्युनिस्ट पार्टीमा मिसिएका छन् भने झाँक्रीले नेपालसँगको यात्रा टुंगिएको घोषणा गरेकी छन्। उनले नेकपा (एकीकृत समाजवादी)मा आफू नरहेको घोषणासमेत गरेकी छन्।

नेकपा (एकीकृत समाजवादी)सँगको नेपाल र झाँक्रीको चारवर्षे नाता टुटेको छ भने उनीहरूलगायतले मिलेर बनाएको नेकपा (एकीकृत समाजवादी) नेपाली कम्युनिस्ट पार्टी नामक नयाँ दलमा विलीन भएको छ। बुधबार बिहानै बबरमहलस्थित होटल बसेरामा पत्रकार सम्मेलन नै गरेर झाँक्रीले आफू नेकपा-एसमा नरहेको घोषणा गरिन्। चार वर्षअघिको बहादुरभवनको प्रसंगमा झाँक्रीले भनिन्, ‘त्यसको उत्तर समयले दिन्छ।’

अनामनगरस्थित बसेरा होटलमा आयोजित कार्यक्रममा रामकुमारी झाँक्री। तस्बिर : नेपाल फोटो लाइब्रेरी

झाँक्रीले निसर्त एमालेमा फर्किने घोषणा गरेकी छन्। उनले एकीकृत समाजवादी पार्टी निर्माणको सुरुआतका दिनमा एउटा भयंकर अभियान चल्छ भन्ने ठानिएको बताइन्। उनको कथन थियो, ‘तर त्यो अध्याय आजदेखि समाप्त भएको छ। बाटो अवरुद्ध भएको समयमा कसरी अघि बढ्ने टुंगो गर्न पनि बाटोमै उभिनुपर्छ।’

उता, नेकपा-एसका अध्यक्ष नेपाल र अर्का नेता पूर्वप्रधानमन्त्री झलनाथ खनालसहित केन्द्रीय कमिटीका बहुमत सदस्य नेपाली कम्युनिस्ट पार्टीमा समाहित भएका छन्। १० दल मिलेर बनेको नयाँ दलको घोषणासभा १९ कात्तिकमै भृकुटीमण्डपमा गरिएको थियो।

झाँक्री र नेपालले अलग अलग बाटो तय गरे पनि नेकपा-एसका महासचिव घनश्याम भुसाल न एमालेतिर गएका छन् न नेपालसँग एकतामा सहभागी भएका छन्। उनले बृहत् कम्युनिस्ट एकताका लागि पुराना नेता बाधक भएको भन्दै नयाँ अभियान सञ्चालन गर्ने घोषणा गरेका छन्। नेकपा (एकीकृत समाजवादी)का तीनथरी नेता तीनतिर लागेपछि त्यो दल औपचारिक रूपमा तीन टुक्रामा विभाजित भएको छ। कतिसम्म भने, निकै महत्त्वाकांक्षाका साथ गठन गरिएको त्यो दल राष्ट्रिय पार्टी बन्दै नबनी समाप्त भएको छ।

नेकपा-एसका सम्मानित नेतासमेत रहेका पूर्वप्रधानमन्त्री खनाल हिजो नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न भक्तपुरको गुन्डु पुगेका थिए। तर, अन्तिममा उनी नेपाली कम्युनिस्ट पार्टीको एकता घोषणासभामा प्रकट भए। हुन पनि पूर्वप्रधानमन्त्री नेपाल नेपाली कम्युनिस्ट पार्टीको सहसंयोजक बनेका छन् भने खनालले तेस्रो वरीयता पाएका छन्। नयाँ दलको संयोजक चाहिँ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भएका छन्।

एकता घोषणासभामा पुष्पकमल दाहाल, माधवकुमार नेपाल, वामदेव गौतमलगायत। तस्बिर : नेपाल फोटो लाइब्रेरी

एकता घोषणासभामा जानुअघि खनालले बुधबार बिहानै माओवादी केन्द्रका संयोजक दाहालसँग छलफल गरेका थिए। यसअघि उनले वाम एकताप्रति लिखित असहमति व्यक्त गरेका थिए। तर, बुधबार दिउँसो एकतामा जान नौ राजनीतिक दलको केन्द्रीय कमिटीको संयुक्त बैठकमा उनी सहभागी भएका थिए। भृकुटीमण्डपमा आयोजित समारोहमा खनालले भने, ‘म ढिलो आउनुको कारण छ। मैले कमरेड प्रचण्डलाई सबै कुरा भनेको छु। उहाँले मिलाउँछु भनेर प्रतिबद्धता जनाउनुभएको छ। त्यही विश्वासको आधारमा केही रिजर्भेसन भए पनि मिल्नुको विकल्प छैन भनेर एकतामा बल पुर्‍याउन म यहाँ आएको हुँ।’

दाहाल, नेपाल र खनालले बनाएको नयाँ दलमा नेपाली कम्युनिस्ट पार्टीमा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, जनसमाजवादी पार्टी नेपाल, नेकपा समाजवादी, नेकपा माओवादी समाजवादी, नेकपा (साम्यवादी), देशभक्त समाजवादी मोर्चा र नेपाल कम्युनिस्ट पार्टी समाहित भएका छन्।

नेपाली कम्युनिस्ट पार्टीको घोषणासभा हुनुअघि नेकपा-एसका महासचिव घनश्याम भुसालले त्रिपुरेश्वरमा पत्रकार सम्मेलन गरेर बृहत् वामपन्थी एकताका लागि फरक अभियानको घोषणा गरेका छन्। भुसालले भनेका थिए, ‘हामीले संविधान नयाँ लेख्यौँ, राज्यव्यवस्था नयाँ बन्यो, बसाइँसराइ तथा बजारको विस्तारले समाजको संरचनामा नयाँ र ठूला परिवर्तन भए, राजनीतिक पार्टीका नारा र कार्यभार नयाँ भए, सबै कुरा नयाँ भए। तर, पुराना राजनीतिक पार्टीहरूको नेतृत्व बदलिएको छैन।’

त्रिपुरेश्वरमा आयोजित पत्रकार सम्मेलनमा घनश्याम भुसाल। तस्बिर : नेपाल फोटो लाइब्रेरी

उनले मंसिरको पहिलो साता राष्ट्रिय भेला गर्ने बताए। भुसालसँग उपाध्यक्ष घनेन्द्र बस्नेत र जीवनराम श्रेष्ठलगायतका नेता उपस्थित थिए।