काठमाडौँ। आन्तरिक राजस्व कार्यालय धरानका तत्कालीन कर अधिकृत तिलक आलेविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार आलेसहित स्वामीनारायण निर्माण सेवा धरान र त्यसका सञ्चालक सन्तोषकुमार बस्नेतविरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर गरेको हो। उनीहरूसँग एक करोड २३ लाख ६९ हजार ६४९ रुपैयाँ बिगो तथा सजाय माग गरिएको अख्तियार प्रवक्ता राजेन्द्रकुमार पौडेलले बताए।
आर्थिक वर्ष ०७६/७७ मा मोरङको गछिया खोला उत्खनन् गर्न सुन्दरहरैचा नगरपालिका र स्वामीनारायण निर्माण सेवाबीच नौ करोड ५१ लाख ५१ हजार १५१ रुपैयाँमा सम्झौता भएको थियो।
सम्झौताअनुसार स्वामीनारायणले एक करोड २३ लाख ६९ हजार ६४९ रुपैयाँ कर तिर्नुपर्थ्यो। तर कर नतिरी आले र बस्नेतले राजस्व छली गरेर भ्रष्टाचार गरेको अख्तियारको आरोप छ।