पार्टीका सबै तहमा कम्तीमा पनि एक तिहाइभन्दा बढी नयाँ युवा पुस्ताको प्रतिनिधित्व रहने गरी विधानलाई युवामैत्री बनाउनुपर्छ : महर

२० कार्तिक २०८२
अ+
अ-

काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा पार्टीभित्रको संरचनागत सुधार र पुस्तान्तरणको मुद्दा जोडतोडले उठेको छ। बैठकमा केन्द्रीय सदस्य नैनसिंह महरले पार्टीमा लामो समयदेखि एउटै व्यक्तिले विभिन्न अवसर पाइरहने प्रवृत्तिको अन्त्य गर्न ‘कुलिङ पिरियड’ को अवधारणालाई कडाइका साथ लागु गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्। उनले यो अवधारणालाई पार्टीभित्रको ‘अवसरको सिन्डिकेटमाथिको प्रहार’ को संज्ञा दिए।

नेता महरको प्रस्तावअनुसार निश्चित अवधि र पटकसम्म लाभको पदमा बसेका नेताहरूले केही समयका लागि सक्रिय कार्यकारी भूमिकाबाट अलग रहेर पार्टीको सल्लाहकार वा ‘गाईड’ को भूमिका निर्वाह गर्नुपर्दछ।

‘आन्तरिक गुटबन्दी र खिचातानीमा अल्झिएकाले देशलाई नेतृत्व दिने ऐतिहासिक अवसर कांग्रेसले गुमायो’

“कुलिङ अफ पिरियडको अवधारणालाई कार्यान्वयन गर्नुपर्छ। तीनपटक सांसद र केन्द्रीय समितिमा रहेका, दुईपटक मन्त्री भएका, ७० वर्ष उमेर पुगेका र अवसर पाएर सार्वजनिक जीवनमा प्रश्न उठेका, गठबन्धनबारे निर्णय गर्ने, संसदीय बोर्डमा रहेर टिकट वितरण गर्ने, संयन्त्र र सरकारमा संलग्न नेताहरूले एकपटक कुलिङमा बस्नुपर्छ र गाइडको भूमिका खेल्नुपर्छ‚” उनले बैठकमा भने।

यस्तै बैठकमा उनले पार्टी नेतृत्व राष्ट्रिय संकटका बेला आफ्नो जिम्मेवारीबाट चुकेको भन्दै आत्मालोचनासमेत गरे। पार्टी व्यक्तिगत स्वार्थ, आन्तरिक गुटबन्दी र खिचातानीमा अल्झिएकाले देशलाई नेतृत्व दिने ऐतिहासिक अवसर गुमाएको निष्कर्ष उनले सुनाए।

महरले पार्टीका हरेक तहमा ३३ प्रतिशतभन्दा बढी नयाँ युवा पुस्ताको प्रतिनिधित्व अनिवार्य गर्नुपर्ने प्रस्ताव पनि त्यस अवसरमा राखे। लिखित प्रस्ताव पेस गर्दै पार्टीको विधानलाई नै ‘युवामैत्री’ बनाउन यस्तो व्यवस्था गर्न उनले माग गरे। “पार्टीका सबै तहमा कम्तीमा पनि एक तिहाइभन्दा बढी नयाँ युवा पुस्ताको प्रतिनिधित्व रहने गरी विधानलाई युवामैत्री बनाउनुपर्छ,” प्रस्ताव राख्दै उनले भने।