‘कांग्रेसको नियमित महाधिवेशन हुनुपर्छ’
काठमाडौँ। नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवं पूर्वमन्त्री दीपक खड्काले कांग्रेसभित्र नियमित महाधिवेशन हुनुपर्ने बताएका छन्।
कांग्रेस केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिको आज (बिहीबार) को बैठकमा उनले २०८३ जेठभित्र नियमित महाधिवेशन सम्पन्न गर्नेगरी पार्टी अघि बढ्नुपर्ने बताए। “नियमित महाधिवेशन गर्दा पार्टी वडा तहदेखि केन्द्र तहसम्म नै क्रियाशील हुन्छ,” उनले भने।
उनले नेपाल एक सनातन वैदिक, धार्मिक राष्ट्र भएकाले राष्ट्रको पनि धर्म हुनुपर्छ भनेर विधानमा नै ‘राष्ट्रिय धर्म’ कायम गरेर निर्वाचनमा जानुपर्ने धारणा राखे। खड्काले कांग्रेस कमजोर हुँदा राष्ट्रियतामाथि खतरा उत्पन्न हुने नागरिक असुरक्षित हुने र लोकतन्त्र नै समाप्त हुने हुँदा सबै कुरा बिर्सेर पार्टीभित्र एकता कायम गर्नुपर्ने बताए।
उनले सबै केन्द्रीय पदाधिकारीसमेत बुथबाट प्रतिनिधि भएर आउने व्यवस्था गर्नुपर्ने, पार्टीभित्रका सबै तहमा कम्तिमा १० प्रतिशत जेनजी पुस्तालाई सिट सुरक्षित गर्नुपर्ने, पार्टीको विधानलाई समयानुकूल बनाउन एक विधायन संशोधन समिति तत्काल गठन गर्नुपर्ने राय प्रस्तुत गरे।
पार्टीको महाधिवेशनका लागि क्रियाशील सदस्यता छानबिन समिति गठन गर्नुपर्ने, राष्ट्रिय पुँजी निर्माणको नेतृत्व लिन पार्टीले सबैसँग सहकार्य गर्दे अगाडि बढ्नुपर्ने, पार्टीको अन्तर्राष्ट्रिय सम्बन्ध कमजोर भएको हुँदा प्रस्ट नीतिसहित अन्तर्राष्ट्रिय सम्बन्धहरु बलियो बनाउन कांग्रेसले पहल गर्नुपर्ने धारणा बैठकमा राखेका थिए।
खड्काले गत २३ र २४ भदौको घटनामा पार्टीका सभापति शेरबहादुर देउवा र केन्द्रीय सदस्य आरजु राणा देउवाप्रति भएको सांघातिक आक्रमणको निन्दा गरे। उनले जेनजी पुस्ताले उठाएको आवाजलाई पार्टीले सम्बोधन गर्नुपर्ने बताए। यस्तै उनले २४ गतेको घटना राष्ट्रमाथिको आक्रमण, लोकतन्त्रमाथिको आक्रमण र वामे सर्दै गरेको नेपालको अर्थतन्त्रमाथिको आक्रमण भएको बताए। उक्त घटनामा संलग्न कांग्रेसीलाई पार्टी निष्कासन गर्दै सबैलाई कारबाहीको दायरामा ल्याउनुपर्ने उनको माग छ।
उनले मुलुकमा शान्ति सुरक्षा कायम गर्न र नागरिकलाई सुरक्षाको प्रत्याभूति दिलाउन पार्टीले सुरक्षा निकायसँग मिलेर हरेक वडामा ‘नागरिक सुरक्षा समिति’ गठन गर्नुपर्ने बताए। २४ गतेको विध्वंस घटनालाई राष्ट्रमाथिको आतंकवाद हो भनी पार्टीले निर्णय गर्नुपर्ने उनको भनाइ थियो।
नेता खड्काले पुँजी पलायन हुन नदिन र आर्थिक सवलीकरणका लागि सबै उपायहरु अबलम्बन गर्नुपर्ने, वर्तमान सरकारलाई अवैधानिक सरकार रहेको घोषणा गर्दै संसद्ले चिन्ने एक स्वतन्त्र सरकार गठन गरी निर्वाचन प्रयोजन र शान्ति सुरक्षा कायम गराउने र २०८३ मंसिरमा निर्वाचन गर्ने गरी संसद्मार्फत अनुमोदन सरकार गठन गर्ने गरी वैधानिकता प्रदान गर्न लाग्नुपर्ने बताए।
उनले भ्रष्टचारमुक्त सुशासन कायम गरी कर्मचारीतन्त्रमा व्यापक सुधार एवं जिम्मेवार बनाउन कांग्रेसले नेतृत्वदायी भूमिका लिनुपर्ने र पार्टी विभाजनको खतरालाई रोक्न सबै उपाय अवलम्बन गरी सहमति कायम राख्नुपर्ने बताए।
