काठमाडौं। काठमाडौं महानगरपालिका–१२ टेकु ह्युमतस्थित गल्लीबाट लागुऔषध र हतियारसहित दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ।
शुक्रबार बृत्त कालीमाटी र उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गस्ती तथा चेकजाँचका क्रममा सोही ठाउँका १९ वर्षीय सुजन श्रेष्ठ र २१ वर्षीय अमर शाहीलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार उनीहरूको साथबाट ब्राउन सुगरजस्तो देखिने लागुऔषध ०.९२ ग्राम, नगद ३२ हजार रुपैयाँ र विभिन्न कम्पनीका पाँच थान मोबाइल फोन फेला परेका छन्। प्रारम्भिक अनुसन्धानपछि दुवै जनालाई थप सोधपुछका लागि कालीमाटी वृत्तमा राखिएको प्रहरीले जनाएको छ।
थप अनुसन्धानको क्रममा प्रहरीले उनीहरूको मोबाइल फोन जाँच गर्दा हतियार देखिएको भिडियो भेटिएको थियो। त्यसपछि शनिबार पुनः प्रहरी नायब उपरीक्षक मधुकुमार थापाको नेतृत्वमा खटिएको टोलीले दुवैको घरमा खानतलासी गर्दा मेड इन युएसए लेखिएको दुई थान रिभल्वर, पाँच राउण्ड गोली, एसएलआर राइफलको एक राउण्ड गोली र पेस्तोलमा लाग्ने एक राउण्ड गोली फेला पारेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।
पक्राउ परेकालाई हतियार र लागुऔषध दुबै मुद्दामा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।