काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

टिप्पणी

जेन–जी आन्दोलनपछि नेतृत्व हस्तान्तरण या पतनको संगिन मोडमा आइपुग्दा पनि एमाले अध्यक्ष ओली आफूबाहेकको एमाले हुनैनसक्ने स्वैरकल्पनाको अहंकारमा मग्न देखिन्छन्।

२४ कार्तिक २०८२
चितवनमा भएको नेकपा एमालेको १०औँ महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओली। तस्बिर : बिक्रम राई
अ+
अ-

भर्खरै बैंककमा उपचार गरेर फर्किएका केपी शर्मा ओली राम्ररी तंग्रिन बाँकी नै थियो। स्वास्थ्यलाभ गरिरहेका उनलाई बोल्न घाँटीले पनि पहिलेजस्तो साथ दिइरहेको थिएन, तर उनी निकै तर्कशील र मीठो सुनिएका थिए, जतिखेर उनी अध्यक्ष पदका लागि आफ्नै नेता माधवकुमार नेपालसँग भिड्दै थिए। ओलीको नारा थियो– नेतृत्व हस्तान्तरण!

आफू महासचिव रहँदा पहिलो संविधानसभामा पार्टीले नराम्रोसँग पराजय बेहोरेपछि नैतिकताका आधारमा पदबाट राजीनामा दिएर नेपाल नैतिकताको अर्को नामझैँ भएका थिए। त्यसअघि पार्टीमा अध्यक्ष मनमोहन अधिकारी भए पनि महासचिव नै शक्तिशाली हुने तत्कालीन वैधानिक व्यवस्थाअनुसार पार्टीभित्र १५ वर्ष उनकै रजगज चल्यो। अधिकारीको मृत्युपछि अध्यक्ष पद नै खारेज भएपछि महासचिव पद नै सर्वेसर्वा हुनपुग्दा त्यो ठाउँमा नेपाल नै थिए। त्यसबेला ओली नेपालका मुख्य सहायकजस्ता देखिन्थे।

तर, पार्टी बहुपदीय प्रणालीमा जाँदा नैतिक बन्धनमा बाँधिएका नेपाल २०६५ सालमा भएको बुटवल महाधिवेशनमा प्रतिस्पर्धामा उत्रिएनन्, र झलनाथ खनालसँग ओली पराजित भए। पराजित ओलीले ‘केही मतपेटिका यताउता भएको’ भन्ने थोरै हल्लाबाहेक अरू केही गरेनन्। तिलमिलाएनन्।

पार्टीसत्ता र राज्यसत्तामा पटक पटक स्वाद लिइसकेका र वानप्रस्थमा जानुपर्ने ओली उमेर हदसम्बन्धी आफैँले बनाएको वैधानिक व्यवस्थालाई समेत आफूअनुकूल बनाउन बलमिच्याइँ गरेर अगाडि बढ्दा अब एमाले नामको जहाज भयानक दुर्घटनातिर लक्षित हुन पुगेको छ।

बरु त्यसअघि २०५९ सालमा जनकपुर महाधिवेशनबाट फर्कंदा भने ओली युद्धमा हारेको सिपाहीजस्तै भएर फर्केका थिए। महाधिवेशनमा उनको ‘बहुपदीय प्रस्ताव’ नै अस्वीकृत भएपछि उनका समर्थकहरूलाई बसिरहेको होटलबाटै निकालिएको थियो। जनकपुर महाधिवेशनले माधवकुमार नेपाललाई शक्तिशाली महासचिव बनाएर पठाएको थियो।

पार्टी हारको नैतिक बन्धनमा बाँधिएका नेपालले एक कार्यकाल चुपचाप बसेर फेरि पार्टी नेतृत्वका लागि २०७१ सालमा काठमाडौँ महाधिवेशनमा मुख मिठ्याए। उनको तर्क थियो, ‘मैले महासचिवको हैसियतले पार्टी चलाएँ, पार्टी बहुपदीय प्रणालीमा गएकाले त्यो प्रणालीअन्तर्गत रहेर एकपटक पार्टीको नेतृत्व गर्छु।’ अर्थात्, उनले अध्यक्ष हुने चाहना देखाए।

त्यतिबेला ओलीले दिएको जवाफसँग भिड्ने तर्क नेपालसँग थिएन। ओलीले भनेका थिए, ‘हामीले उहाँलाई पार्टी नामको एउटा सिंगो घर नै त्यतिका वर्षसम्म जिम्मा दिएका थियौँ। घरै जिम्मा लिएर त्यतिका वर्ष बसेको मान्छेले म घरको त्यो कोठामा मात्रै बसेँ, अब अर्को कोठामा बस्न चाहन्छु भनेर पनि हुन्छ?’

यसपटक भने ओलीले नेपाललाई सजिलै पराजित गरे। ओलीको नेतृत्वले बारम्बार आफूलाई बिझाइरहेपछि नेपाल सानो टुकडी लिएर बाहिरिए। अहिले त्यो टुकडी पनि तीन भाग लाग्दा आफूतिर परेको अलि ठूलो भाग उनले माओवादीमा मिसाएका छन्। यतिखेर पुष्पकमल दाहाल सो पार्टीका नायक बनेका छन् भने नेपाल दाहालका नायब।

आफैँतिर सोझिएको नारा

हिजो जसरी ओलीले नेपाल विस्थापनका लागि नेतृत्व हस्तान्तरणको सुन्दर, सार्थक र सामयिक नारा दिए; अहिले त्यो नारा ओलीतिरै सोझिएको छ। उषाकिरण तिमल्सेनाजस्ता केही हिम्मतिला युवा नेता नेतृत्व हस्तान्तरण र पुस्तान्तरणको प्लाकार्ड बोकेर ओलीसम्मुख छन्।

पार्टीसत्ता र राज्यसत्तामा पटक पटक स्वाद लिइसकेका र वानप्रस्थमा जानुपर्ने ओली उमेर हदसम्बन्धी आफैँले बनाएको वैधानिक व्यवस्थालाई समेत आफूअनुकूल बनाउन बलमिच्याइँ गरेर अगाडि बढ्दा अब एमाले नामको जहाज भयानक दुर्घटनातिर लक्षित हुन पुगेको छ। किनकि, जहाजको कप्तानी फेरि पनि आफैँले सम्हाल्ने सुरसार ओलीले देखाइसकेका छन्।

नेपाली राजनीतिमा चामत्कारिक रूपमा उदाएका रहस्यमयी बालेन साहका ‘बटमलाइन’ नै ओलीको गिरफ्तारी हो।

त्यसो त ओलीले जति एमालेलाई सफल पार्टी न झलनाथले बनाए, न नेपालले। पटक पटक संघीय र स्थानीय निर्वाचनमा उनकै नेतृत्वलाई विश्वास गरेर जनताले एमालेलाई पहिलो पार्टी बनाए। ‘चुच्चे नक्सा’ लगायत साहसिक कामको श्रेय ओलीलाई नदिई सुखै छैन।

सबैको प्रिय हुन ओलीले के मात्र गरेनन्! युवा कार्यकर्ताहरूमाझ उनी ‘ओली बा’ भए। तेह्रथुमको इवा पुगेर आफू जन्मिएको झुपडीमा जन्मदिन मनाए। आफ्नो गुणगान गाउने र्‍याप घन्काउन लगाए। साइबर सेना बनाए। ‘म पनि झोले’ अभियान चलाए। अनेकौँ प्रयोग गरे। तर, गर्नुपर्ने एउटा महत्त्वपूर्ण काम गरेनन्; त्यो हो– नेतृत्व हस्तान्तरण वा त्यसको गृहकार्य। गर्नै नहुने काम गरे, आफ्नै कमरेडहरूको वनवास।

नेपाली राजनीतिमा गिरिजाप्रसाद कोइराला आफ्नो समयका अनुदार र हठी नेता हुन्। तर, ओलीले कोइरालालाई पनि जिते। कोइरालाले आफूसँग प्रतिस्पर्धा गर्ने नरहरि आचार्य र शेरबहादुर देउवाको हुर्मत लिएनन्, बरु सम्मानसाथ केन्द्रीय समितिमा राखे। शेरबहादुर देउवाले पनि अर्को संस्कार देखाए; आफ्नो प्रतिस्पर्धीलाई कोटा दिएर मन्त्री नै बनाउने। ओलीले भने आफूसँग निर्वाचनमा प्रतिस्पर्धा गरेकै आधारमा भीम रावललाई डाँडा कटाए। अस्वाभाविक भए पनि एमालेका कतिपय नेता-कार्यकर्ताको मागका रूपमा राजनीतिमा आउन चाहेकी पूर्वराष्ट्रपति विद्या भण्डारीको बाटो छेकिरहेका छन्। ओलीको यस आत्मघाती कदमले एमालेको पतनको भावी यात्रालाई थप तीव्र बनाएको छ।

एमालेलाई पतनको यात्राबाट रोक्ने एउटै उपाय भनेको नेतृत्व हस्तान्तरण नै हो। यो त्यही नारा हो; जो हिजो ओलीले लगाउँदा सुन्दर, सार्थक र सामयिक सुनिएको थियो।

महासंकटमा एमाले

जेन-जी विद्रोहताका तत्कालीन सरकारको नेतृत्वमा ओली नै भएकाले आन्दोलनमा राज्यपक्षबाट भएको नागरिक हत्याको दोषको नैतिक जिम्मेवारी उनकै टाउकामा छ। यतिबेला उनी स्थानहदको कारबाही भोगिरहेका छन्। पार्टी नेतृत्वबाट हट्नासाथ प्रहरी हिरासतको वास होला भन्ने भयले पनि ओली भावी नेतृत्वका लागि टसको मस नभएको हुनसक्छ। नेपाली राजनीतिमा चामत्कारिक रूपमा उदाएका रहस्यमयी बालेन साहका ‘बटमलाइन’ नै ओलीको गिरफ्तारी हो। यसका लागि उनले सुशीला कार्की सरकारलाई दबाब दिएको समाचार पनि आइरहेका छन्।

एमालेलाई पतनको यात्राबाट रोक्ने एउटै उपाय भनेको नेतृत्व हस्तान्तरण नै हो। यो त्यही नारा हो; जो हिजो ओलीले लगाउँदा सुन्दर, सार्थक र सामयिक सुनिएको थियो।

त्यसो त हिजो सत्तामा रहँदा आफूअनुकलका कतिपय नेता तथा कार्यकर्ताहरूलाई कुस्त अवसर दिएको, पार्टीको स्रोतसाधन र केन्द्रको बहुमत पनि आफूसँगै रहेकाले पार्टीभित्र भने ओली ढुक्कै होलान्। यस समूहले उनलाई नै ‘निर्विकल्प नेतृत्व’ भनिरहेबाट ओली हौसिनु पनि स्वाभाविक छ।

एमाले अहिलेको परिस्थितिमा सबैभन्दा संकटमा परेको पार्टी बनेको छ। कांग्रेसका गगन थापा र विश्वप्रकाश शर्माहरूले लोकतान्त्रिक दबाब र अभ्यास गरेकै छन् भने देउवाले कम्तीमा पूर्णबहादुर खड्कालाई कार्यवाहक छाडेर आफू अभिभावक हुने तयारी देखाएका छन्। तर, एमालेमा अधिकांश नेता ओलीसम्मुख थर्कमान छन्। महेश बस्नेतहरू योगेश भट्टराई र नवीना लामाहरूलाई थर्काइरहेका छन्। आन्तरिक लोकतन्त्रको अभ्यास अवरुद्ध छ।

एमाले कार्यकर्ताहरूमा देखिएको यसप्रकारको भयवादी मौनता र निराशाले पार्टी संगठनहरू चलायमान हुन सकिरहेका छैनन्। बरु भर्खरै दर्ता भएका पार्टीहरूका कार्यकर्ता तथा समर्थक भेला र साइबर अभियानले एमालेको शक्ति क्रमशः क्षय गरिरहेको देखिन्छ। पार्टी विचारले चल्ने हो, तर एमालेमा वैचारिक बहसको खडेरी परिसकेको छ। पार्टी भनेकै ओली र पार्टीको विचार भनेकै ओलीको बोलीजस्तो गरेर विचारशून्यताले एमालेलाई नराम्ररी गाँजिसकेको छ।

नेतृत्व हस्तान्तरण र पुस्तान्तरण

एमालेलाई पतनको यात्राबाट रोक्ने एउटै उपाय भनेको नेतृत्व हस्तान्तरण नै हो। यो त्यही नारा हो; जो हिजो ओलीले लगाउँदा सुन्दर, सार्थक र सामयिक सुनिएको थियो।

पार्टीबाट भएका कमी-कमजोरीप्रति क्षमायाचना, आइन्दा गल्ती नगर्ने प्रतिबद्धता मात्रै होइन, हिजो गरेका राम्रो कामहरूको व्याख्या, विश्लेषण र त्यसको प्रचारले बिरामी एमालेका लागि सञ्जीवनीको काम गर्नेछ। अन्यथा आफूले खाई नखाई पञ्चायतकालभरि पार्टीका भूमिगत नेताहरूलाई पाल्ने सेल्टरदाता, एमालेका मतदाता र चन्दादाता एमालेसँग निराश छन्। उनीहरूमा ओलीको नाम सुनिरहने अभिरुचि हराइसकेको छ।

प्रकृतिको नियमअनुसार उत्थानपछि पतन निश्चित छ। नेता र दलहरू पनि यसबाट अछुतो हुन सक्दैनन्। तर, चाँडै पतन हुनबाट जोगिने उपाय पनि हुन्छन्। त्यसका लागि विचारको परिमार्जन, यथासम्भव जनमुखी कार्यक्रम, चुस्त संगठन, प्रविधिमैत्री, सुशासन, भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउनुपर्छ। संगठनलाई अद्यावधिक नगर्ने र नेतृत्वमा पुगेपछि ब्रह्मनालमा नपुग्दासम्म पनि नेतृत्व नछाड्ने हो भने पार्टीले आफ्नै पतनको यात्रा तीव्र बनाउँछ।

त्यसैले एमालेले आफ्नो पतनको यात्रा रोक्ने हो भने नेतृत्व हस्तान्तरण र पुस्तान्तरण गर्नैपर्छ। किनकि, जनता परिवर्तन चाहन्छन्, अहिले जनताले चाहेको भनेको तत्काल पार्टीको नेतृत्व परिवर्तन हो।