काठमाडौँ
००:००:००
२१ जेष्ठ २०८३, बिहीबार

फलोअप

भोगाधिकार लिएको जग्गा, अनुदानमा बनाइएको भवन भाडामा लगाएर असुली

२५ कार्तिक २०८२
मदन भण्डारी मेमोरियल कलेज। यही परिसरमा मदन भण्डारी फाउन्डेसनको कार्यालय रहेको छ। तस्बिर : बिक्रम राई
अ+
अ-

काठमाडौँ महानगरपालिका-१० विनायकनगरस्थित धोबीखोला किनारमा रहेको सात रोपनी क्षेत्रफलमा मदन भण्डारी फाउन्डेसन, मदन भण्डारी मेमोरियल कलेज, मदन भण्डारी मेमोरियल उच्च मावि, रेडियो श्वेत शार्दूल र मदन भण्डारी फाउन्डेसनको केन्द्रीय कार्यालय छ।

फाउन्डेसनकै स्वामित्वका यी भवन भने संघीय सरकार, काठमाडौँ महानगरपालिका र भारतीय दूतावासको सहयोगमा बनेका हुन्। केही जग्गा सरकारले भोगाधिकारका लागि दिएको हो भने केही चाहिँ सरकार र महानगरपालिकाको अनुदानमा खरिद गरिएको हो।

मदन भण्डारी मेमोरियल कलेजको मुख्य भवन भारतीय दूतावासले बनाइदिएको हो भने फाउन्डेसनको कार्यालय रहेको भवन चाहिँ काठमाडौँ महानगरपालिकाको १० करोड रुपैयाँ अनुदानमा बनेको हो। मदन भण्डारी मेमोरियल उच्च मावि सञ्चालनमा रहेको जग्गा र भवन अनुदान र बैंक ऋणमार्फत व्यक्तिसँग खरिद गरिएको फाउन्डेसनका कार्यसमिति सदस्य डेगेन्द्र पाण्डे बताउँछन्।

विडम्बना त के भने, आफैँले स्थापना गरेको कलेज, उमावि र रेडियोबाट गत साउनदेखि फाउन्डेसनले वार्षिक रूपमा रकम उठाउन थालेको छ। फाउन्डेसनले कलेजलाई ३० लाख, उमाविलाई १५ लाख र रेडियोलाई तीन लाख रुपैयाँ शुल्क तोकेको छ। कलेजले फाउन्डेसनलाई दसैँअघि १० लाख रुपैयाँ पनि बुझाइसकेको छ।

त्यति मात्र होइन, मदन भण्डारी मेमोरियल कलेज सामुदायिक कलेजका रूपमा सञ्चालित छ। कलेजले विश्वविद्यालय अनुदान आयोगबाट अनुदान लिने गरेको छ। कलेजमा आएको सरकारी अनुदान विभिन्न शीर्षकमा फाउन्डेसनले लैजाने र राजनीतिक गतिविधिमा समेत प्रयोग हुने गरेको छ।

मदन भण्डारी कलेज र फाउन्डेसन परिसर

फाउन्डेसनलाई वार्षिक रूपमा निश्चित रकम बुझाउनुपर्ने ताकेता आएपछि कलेज र फाउन्डेसनका अधिकारीबीच विवादसमेत उत्पन्न भएको थियो। फाउन्डेसन माउ संस्था भए पनि कलेज विद्यार्थीबाट लिइने शुल्क, विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त अनुदानलगायत स्रोतबाट सञ्चालित छ।

एक त नाफा वितरण गर्न नमिल्ने फाउन्डेसनका रूपमा दर्ता गरिनु, सरकार र दूतावासको सहयोग, सहुलियत र अनुदानमा जग्गा-भवन निर्माण गरिनु, अर्कातर्फ आफैँले स्थापना गरेका संस्थाहरूबाट रकम लिनु वित्तीय अनुशासनविपरीतको कदम मानिन्छ। गैरनाफामूलक कलेजले नाफा बाँड्न पाउँदैन।

अर्थविद् केशव आचार्य भन्छन्, “सरकारबाट अनुदान ल्याउने, संरचना बनाउने र त्यसबाट रकम असुल गर्नु व्यापारिक कामजस्तो देखियो। सेवाभावसहित गैरनाफामूलक रूपमा दर्ता भएका संस्थाहरूले यस्ता गतिविधि गर्नु उचित अभ्यास होइन।”

कलेजका नौवटा उद्देश्यमा विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिनेदेखि नयाँ ज्ञान सिर्जना गर्न खोज-अनुसन्धानमा विशेष जोड दिनेसम्म उल्लेख छ। फाउन्डेसनले कलेज स्थापना गरे पनि फरक अस्तित्वको भएको संस्थाका रूपमा दाबी गर्ने गर्छ।

तर, मदन भण्डारी मेमोरियल कलेजका प्रिन्सिपल बाबुराम अधिकारी फाउन्डेसन अभिभावक संस्था भएकाले विधिसम्मत सहयोग गर्नु अस्वाभाविक नभएको बताउँछन्। फाउन्डेसनमा जाने रकम भवन भाडा वा अन्य कुन शीर्षकमा दिने भन्नेबारे भने टुंगोमा नपुगेको बताउँदै उनी भन्छन्, “नियमित रूपमा सहयोग गर्ने कि कार्यक्रममा भन्नेमा पनि छलफल चलिरहेको छ।”

मदन भण्डारी फाउन्डेसनको कार्यालय। तस्बिर : बिक्रम राई

मार्टिन चौतारीका अनुसन्धाता देवराज हुमागाईं गैरनाफामूलक संस्थाहरूले आफ्नो उद्देश्यबाहेक अन्य क्षेत्रमा रकम दिन नपाउने बताउँछन्। “हाम्रो कानुनले गैरनाफामूलक संस्थालाई आफ्नो उद्देश्यबाहेकको संस्थालाई रकम दिन नपाउने व्यवस्था गरेको छ,” हुमागाईं भन्छन्, “तर, गैरनाफामूलक संस्थाहरूले त्यसलाई पालन गरेको देखिँदैन।”

अधिकारीले कलेज स्वायत्त ढंगले चलेको दाबी गरे पनि फाउन्डेसन र कलेज व्यवस्थापन समितिबीच फरक छुट्टयाउने अवस्था भने कमै देखिन्छ। हाल फाउन्डेसनकी अध्यक्ष उषाकिरण भण्डारी यसअघि कलेज व्यवस्थापन समितिकी अध्यक्ष थिइन् भने अहिले कलेज व्यवस्थापन समितिका अध्यक्ष महेन्द्रबहादुर पाण्डे यसअघि फाउन्डेसनका अध्यक्ष थिए। फाउन्डेसनको कार्यसमितिमा कलेजका प्रिन्सिपल पदेन सदस्य हुने व्यवस्थासमेत छ। कलेज व्यवस्थापन समितिमा रहेका विमला राई पौड्याल, प्रेमसागर चापागाईं, रामशरण प्याकुरेल, कैलाशकुमार भण्डारी फाउन्डेसनका पनि कार्यसमिति सदस्य छन्।

नेकपा (एमाले)का तत्कालीन महासचिव मदन भण्डारीको विचार चिरस्थायी बनाउँदै बृहत्तर सामाजिक हितका कार्य गर्ने उद्देश्यले २०५६ सालमा मदन भण्डारी अध्ययन अनुसन्धान केन्द्र स्थापना गरिएको थियो। १७ असार २०६१ मा जिल्ला प्रशासन कार्यालय काठमाडौँको निर्णयअनुसार यो संस्था फाउन्डेसनमा रूपान्तरण भएको थियो भने गृह मन्त्रालयको निर्णयअनुसार १९ चैत २०६६ मा फाउन्डेसन राष्ट्रिय निर्देशन ऐन, २०१८ अन्तर्गत जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दर्ता भएको हो। फाउन्डेसनकी हालकी अध्यक्ष उषाकिरण भण्डारी मदन भण्डारीकी जेठी छोरी हुन् भने पूर्वराष्ट्रपति विद्या भण्डारी पत्नी।

विज्ञान, सूचना प्रविधि, व्यवस्थापन र मानविकी विषयका विभिन्न शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेको कलेजले यसअघि पनि फाउन्डेसनलाई एक करोड रुपैयाँ सापटी दिएको थियो । “तीन वर्षअघि संकट पर्दा हामीले एक करोड रुपैयाँ सापटी दिएका थियौँ,” कलेज व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष महेन्द्रबहादुर पाण्डे भन्छन्। तर, उक्त सापटी रकम अहिलेसम्म फिर्ता गरिएको छैन।

गैरनाफामूलक संस्थाका रूपमा रहेको यस कलेजमा शैक्षिक सत्र २०८०/८१ मा एक हजार ८४ विद्यार्थी भर्ना भएका छन्। कलेजको विधानमा कलेजको जग्गा, भवन, अन्य भौतिक सम्पत्ति शीर्षकमा कलेजको मातृसंस्था मदन भण्डारी फाउन्डेसनलाई काठमाडौँ महानगरपालिका-१०, नयाँ बानेश्वरमा सरकारले प्रदान गरेको र फाउन्डेसन आफैँले खरिद गरेको ६-१०-०३-०१ रोपनी जमिन कलेजको प्रयोगमा रहेको उल्लेख छ।

उक्त जमिनमा काठमाडौँ महानगरपालिकाको सहयोगमा बनेको सुविधासम्पन्न चारतले भवनमध्ये दुई तलामा कक्षाकोठा बनाइएको छ भने दुई तल्लामा फाउन्डेसनको केन्द्रीय कार्यालय सञ्चालनमा छ। सोही भवनमा रेडियो श्वेत शार्दूलको स्टुडियो पनि छ।

सोही जग्गामा रहेको ३० कोठे भवन बनाउन भारतीय राजदूतावासले आर्थिक सहयोग गरेको थियो, जसमा कलेज प्रशासन र शिक्षण क्रियाकलाप सञ्चालित छन्। कलेजले आफ्नै स्रोतसाधन, विश्वविद्यालय अनुदान आयोग, अन्य सहयोगी संस्था र व्यक्तिबाट प्राप्त सहयोगमा भौतिक संरचना, फर्निचर, उपकरण, बस, भ्यान, प्रयोगशालालगायत सम्पत्ति जोडेको कलेजको विधानमा उल्लेख छ।

चालु आर्थिक वर्ष २०८२/८३ मा सरकारले कलेज तथा स्कुलको पूर्वाधार निर्माणका लागि सहरी विकास मन्त्रालयमार्फत ६ करोड रुपैयाँ विनियोजन गरेको छ। कलेजका लागि विश्वविद्यालय अनुदान आयोगले आर्थिक वर्ष २०७९/७८ मा पुँजीगत अनुदान शीर्षकमा ४६ लाख ७५ हजार ७०० रुपैयाँ दिएको थियो।

सम्बन्धित समाचार :

मदन भण्डारी फाउन्डेसन अर्थात् सरकारी स्रोतमा शक्तिको अभ्यास

२०५८ सालमा स्थापित कलेजले १२ साउन २०५८ मा उमावि तहको कक्षा सञ्चालनको स्वीकृति पाएको थियो। रेडियो श्वेत शार्दूल १ जेठ २०६६ मा मेरो एफएमको रूपमा दर्ता भएको देखिन्छ।

जोरपाटीमा मदन भण्डारी मेमोरियल स्कुल पनि सञ्चालनमा छ। मदन भण्डारी कृषि प्राविधिक स्कुल, मदन भण्डारी स्पोर्टस् एकेडेमी, मदन भण्डारी लिट्रेचर तथा आर्ट एकेडेमी र मदन भण्डारी बौद्धिक मञ्च पनि फाउन्डेसनकै अंग हुन्।

यतिबेला फाउन्डेसन सरकारी स्रोतको दुरुपयोग गर्दै एमालेमा समानान्तर शक्ति अभ्यास गर्ने मञ्च बनेको छ।