फोटो फिचर
दिन घमाइलो भए पनि साँझबिहान काठमाडौँ उपत्यकामा चिसो हुन थालिसकेको छ। हल्का तुषारो र मन्द कुहिरोको पर्दाले पनि जनाउ दिइरहेको छ- चिसोको आगमनको।
मौसम पूर्वानुमान महाशाखाले काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १० देखि १२ डिग्री सेल्सियस रहने अनुमान गरेको छ। चिसोसँगै यो कुहिरो, प्रदूषणको पनि सूचक हो।
यतिबेला जलवायु संकटसँग जुध्न साझा विचार र प्रतिबद्धता निर्माण गर्न विश्व समुदाय ब्राजिलको बेलेम सहरमा भेला भएको छ। त्यहाँ जारी कप ३० सम्मेलनमा नेपाल पनि सहभागी छ। आशा गरौँ, यो कपले प्रदूषणको कुहिरो हटाउने विषयमा छलफल गर्ला, समाधान निकाल्ला।
कुहिरोको त्यही पर्दा उघार्दै यसै साताको एक बिहान ललितपुरको खोकना पुग्दा कोही ‘पेट घटाउन’ मर्निङ वाक गरिरहेका थिए। कोही पेट पाल्न काँधमा खर्पन बोकिरहेका थिए। खोकनाकै सिकाली मन्दिर रहेको ठूलो चौरमा एक बालक भने भैँसी चराइरहेका थिए।








