२६ कार्तिक २०८२
अ+
अ-

श्रीनगर। भारतीय सुरक्षा निकायले यस साता नयाँदिल्लीमा भएको कार विस्फोटको अनुसन्धानको सिलसिलामा काश्मीर क्षेत्रमा व्यापक छापा मार्दै धेरै सन्दीग्धलाई हिरासतमा लिएको जनाएका छन्।

दिल्लीको ऐतिहासिक लालकिल्लानजिकै सोमबार भएको विस्फोटमा १० जनाको मृत्यु भएको थियो। जहाँ १२ भन्दा बढी सर्वसाधारण घाइते भएका थिए। अधिकारीहरूले मंगलबार यस घटनालाई सम्भावित आतंकवादी गतिविधिका रूपमा अनुसन्धान भइरहेको पुष्टि गरेका छन्। जसअनुसार अनुसन्धानकर्तालाई शंकास्पद व्यक्तिहरूलाई पक्राउ गर्न वा हिरासतमा लिन विशेष कानुनी अधिकार प्राप्त हुन्छ। १७औँ शताब्दीमा निर्माण गरिएको लालकिल्ला भारतको प्रमुख ऐतिहासिक र सांस्कृतिक प्रतीक हो। यहाँ प्रत्येक वर्ष अगस्त १५ का दिन प्रधानमन्त्रीहरूले स्वतन्त्रता दिवसका सम्बोधन गर्ने परम्परा छ।

यदि यो विस्फोट जानाजानी गरिएको भए सन् २०११ पछि भारतको राजधानीमा भएको सबैभन्दा घातक घटना हुनेछ। काश्मीरको दक्षिणी पुलवामा जिल्लामा मंगलबार राति गरिएको शृंखलाबद्ध छापामा कम्तीमा पाँच व्यक्तिलाई सोधपुछका लागि हिरासतमा लिइएको प्रहरीले जनाएको छ। अधिकारिहरूका अनुसार सोमबारको विस्फोट त्यसअघि केही घण्टा मात्र अघि भारतीय नियन्त्रित काश्मीरमा प्रहरीले नयाँदिल्ली बाहिरी क्षेत्र फरिदाबादमा सञ्चालन भइरहेको सन्दीग्ध आतंकवादी सेललाई ध्वस्त पारेको घोषणा गरेपछि भएको हो।

फरिदाबादमा दुई चिकित्सकसहित कम्तीमा सात जनालाई पक्राउ गरिएको थियो। प्रहरीले ठुलो मात्रामा हतियार र बम बनाउने सामग्री जफत गरेको भारतीय सञ्चारमाध्यमहरुले समाचारमा उल्लेख गरेका छन्। भारतीय समाचार संस्थाहरूका अनुसार दिल्ली विस्फोटसँग सम्बन्ध रहेको हुन सक्ने सुरक्षा निकायले आशंका गरेको छ। सुरक्षा निकायहरूले अनुसन्धान भइरहेको भन्दै यस विषयमा औपचारिक टिप्पणी गर्न अस्वीकार गरेका छन्।

मुद्दासँग परिचित चार काश्मीरी प्रहरी अधिकारीले नाम नखुलाउने सर्तमा बताएका अनुसार यो अनुसन्धान १९ अक्टोबरमा श्रीनगरवरपर भारतविरोधी पोस्टरहरू देखिएपछि सुरु भएको थियो। ती पोस्टरले काश्मीरमा तैनाथ भारतीय सैनिकमाथि आक्रमण गर्ने धम्की दिएका थिए। अधिकारीहरूले सीसीटीभी फुटेजको सहयोगमा सन्दीग्धहरूको पहिचान गरिएको र सुरुमा कम्तीमा तीन जनालाई पक्राउ गरिएको जानकारी दिएका छन्। पछिल्लो तीन सातामा सोधपुछका क्रममा भारतका दुई सहरमा कार्यरत दुई काश्मीरी चिकित्सक र अन्य दुई जनालाई पनि हिरासतमा लिइएको छ।

स्थानीय सञ्चारमाध्यमहरूले उक्त विस्फोटमा प्रयोग गरिएको कारको चालक काश्मीरको भएको दाबी गरेका छन्। भारतीय समाचार संस्थाहरूले फरिदाबादको मेडिकल कलेजमा कार्यरत एक काश्मीरी चिकित्सक त्यही कारमा सवार थिए कि थिएनन् भन्नेबारे प्रहरी अनुसन्धान चलिरहेको जनाएका छन्।

हालसम्म प्रहरी निकायहरूले यी दाबीको पुष्टि गरेका छैनन्। तर भारतीय सञ्चारमाध्यमका अनुसार सम्भवतः चिकित्सकले गिरफ्तारीबाट बच्न जानाजानी विस्फोट गराएको वा अनजानमा विस्फोटक पदार्थ ओसार्ने क्रममा दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको छ।

दिल्ली प्रहरीका प्रवक्ता सञ्जय त्यागीले अनुसन्धानकर्ताहरूले ‘आतंकवादी आक्रमण, आकस्मिक विस्फोट वा कारमा भएको यान्त्रिक विफलता जस्ता सबै कोणबाट अनुसन्धान गरिरहेको’ जानकारी दिए। यसबीच, पुलवामा जिल्लाका चिकित्सकमध्ये एकजना सन्दीग्धकी बहिनी शगुफ्ता जानले गत शुक्रबारदेखि आफ्नो भाइसँग सम्पर्क हुन नसकेको बताएकी छन्।