२६ कार्तिक २०८२
अ+
अ-

काठमाडौँ। टर्कीको वायुसेनाको सी १३० हर्कुलस सैन्य कार्गो विमान दुर्घटना भएको छ ।

 जर्जिया–अजरबैजान सीमानजिकै विमान दुर्घटना भएको अलजजियाले जनाएको छ ।

अलजजियाका अनुसार विमानमा उडान दलसहित २० जना सेना सवार थिए। मङ्गलबार भएको दुर्घटनामा कतिजनाको मृत्यु भयो भन्ने आधिकारिका पुष्टि हुन सकेको छैन ।

टर्कीका समाचार माध्यमहरूले प्रसारण गरेको भिडियो फुटेजमा विमान घुम्दै तल झर्दै गरेको र सेतो धुवाँ उडेको देखिन्छ ।

टर्कीको रक्षा मन्त्रालयले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत् दिएको जानकारी अनुसार, सी–१३० विमान अजरबैजानबाट टर्की फर्किंदै गर्दा मंगलबार दुर्घटनाग्रस्त भएको थियो ।

मन्त्रालयका अनुसार, विमानमा चालक दलसहित २० जना सैनिक थिए । टर्कीका गृहमन्त्री अली येरलिकायाका भनाइअनुसार, जर्जियाली अधिकारीहरू बेलुकी करिब ५ बजे दुर्घटनास्थलमा पुगेका थिए र खोज तथा उद्धार कार्य जारी रहेको छ।