काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

२७ कार्तिक २०८२
नयाँदिल्लीस्थित लालकिल्ला नजिकै भएको बम विस्फोटपछिको दृश्य। तस्बिर : एपी
अ+
अ-

काठमाडौँ। भारत सरकारले गत सोमबार नयाँदिल्लीमा भएको घातक कार विस्फोटलाई ‘राष्ट्रविरोधी शक्तिहरूद्वारा गरिएको आतंकवादी आक्रमण’ ठहर गरेको छ। यद्यपि सरकारले घटनासँग सम्बन्धित कुनै नयाँ प्रमाण सार्वजनिक गरेको छैन।

सोमबार ऐतिहासिक स्थल लालकिल्लानजिकै भएको विस्फोटमा आठ जनाको मृत्यु र कैयौँ घाइते भएका थिए। अनुसन्धानका क्रममा बुधबार अधिकारीहरूले विवादित कश्मीर क्षेत्रका विभिन्न भागबाट केही सन्दिग्धलाई पक्राउ गरेको जनाएका छन्। पुलवामा जिल्लामा मंगलबार राति सञ्चालन गरिएको छापामारीमा कम्तीमा पाँच व्यक्तिलाई सोधपुछका लागि हिरासतमा लिइएको थियो।

भारत सरकारले मंगलबारदेखि नै यस घटनालाई सम्भावित आतंकवादी गतिविधि मानेर अनुसन्धान सुरु गरेको हो। प्रत्येक वर्ष स्वतन्त्रता दिवसमा प्रधानमन्त्रीले देशलाई सम्बोधन गर्ने लालकिल्लालाई भारतीय गौरवको प्रतीक मानिन्छ।

भारत–पाकिस्तान तनाव फेरि बढ्ने शंका

यस घटनाले पुनः भारत र पाकिस्तानबीच तनाव चुलिन सक्ने चिन्ता बढाएको छ। भारतले लामो समयदेखि पाकिस्तानमाथि आफ्नो भूमिमा हुने आतंकवादी आक्रमणहरूलाई समर्थन गरेको आरोप लगाउँदै आएको छ। इस्लामाबादले भने यस्ता आरोपलाई अस्वीकार गर्दै आएको छ।