काठमाडौँ। बाङ्लादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी ठहर्याउँदै मृत्युदण्डको सजाय सुनाइएको छ।
बाङ्लादेशी अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणको न्यायाधीश मोहम्मद गुलाम मुर्तजा मजुमदार नेतृत्वको तीन सदस्यीय इजलासले हसिनालाई सन् २०२४ को जुलाई-अगस्टमा भएको विद्यार्थी आन्दोलनका क्रममा हिंसात्मक दमन गर्न आदेश दिएकामा दोषी ठहर्याउँदै मृत्युदण्डको सजाय सुनाएको हो। संयुक्त राष्ट्रसंघले उक्त दमनमा एक हजार ४०० मानिस मारिएको अनुमान गरेको छ। जसमध्ये अधिकांश सुरक्षा निकायको गोलीबाट मारिएका थिए।
उक्त आन्दोलनले अपदस्थ गरेयता हसिना भारतमा निर्वासित जीवन बिताइरहेकी छन्। उनको अनुपस्थितिमै मुद्दाको सुनुवाइ भएको थियो। अदालतको यस्तो फैसलाले भारतलाई समेत हसिनाको सुपुर्दगी गर्न दबाब दिन सक्नेछ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीसँगको गत साता बोल्दै हसिनाले आफूबेगरको सुनुवाइलाई ‘कंगारु कोर्ट’को संज्ञा दिएकी थिइन्।
हसिनासँगै तत्कालीन आन्तरिक मामिलामन्त्री र प्रहरी प्रमुखलाई पनि मृत्युदण्डको सजाय सुनाइएको छ।