काठमाडौँ। विराटनगर किङ्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्सविरुद्ध १७ छक्का प्रहार गरेको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको विराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २२० रन बनाएको छ।
योसँगै पोखराले २२१ रनको लक्ष्य पाएको छ। यो एनपीएलको इतिहासमै कुनै टोलीले दिएको सर्वाधिक ठूलो लक्ष्य हो।
विराटनगरका ओपनर लोकेश बमले सर्वाधिक ७२ रन बनाए। ४८ बल खेलेका उनले एक चौकासहित सात छक्का प्रहार गरे। मार्टिन गप्टिलसँग उनले शतकीय साझेदारी गरे। मार्टिनले ३५ बलमा तीन चौका र पाँच छक्कासहित ६१ रन बनाए।
शुभम रञ्जनेले ३८, बसीर अहमदले २३ रन बनाउँदा नरायण जोशी ११ रनमा अविजित रहे। यी सबैले छक्का प्रहार गरे।
पोखराका म्याट टेलरले सर्वाधिक दुई विकेट लिए। आकाश चन्द, सागर ढकाल र कुशल भुर्तेलले समान एक विकेट लिए।