काठमाडौं। जिल्ला प्रशासन कार्यालय बाराले सिमरा विमानस्थल क्षेत्रमा कर्फ्यू आदेश जारी गरेको छ।
सिमरा विमानस्थल आसपास जेनजी युवाहरूको प्रदर्शन र प्रहरीबीच तनाव उत्पन्न भएपछि विमानस्थल आसपासको ५०० मिटर क्षेत्रमा जिल्ला प्रशासन कार्यालयले कर्फ्यू लगाएको हो।
अहिले मध्यह्न साढे १२ बजेदेखि राति ८ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरिएको बाराका प्रमुख जिल्ला अधिकारीद्वारा जारी सूचनामा उल्लेख छ ।
सूचनामा उल्लेख छ, ‘आज मिति २०८२ मंसिर ३ गते दिउँसो १२ः ३० बजेदेखि बेलुका ८ बजेसम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) र (ख) बमोजिम बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिकाभित्र देहायको क्षेत्रमा कसैले आातजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउनेगरी कर्फयु आदेश जारी गरिएको छ ।’
नेकपा एमालेका नेता महेश बस्नेत आउने थाहा पाएपछि बिहानैदेखि सिमरा विमानस्थल आसपासमा जेनजी युवाहरुले प्रदर्शन गरेका थिए। त्यसक्रममा एमाले कार्यकर्ता र जेनजी युवाहरुबीच झडप भएको र सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति पुग्नसक्ने अवस्थालाई मध्यनजर गर्दै कर्फयु जारी गरिएको सूचनामा उल्लेख छ।