काठमाडौँ। कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज (बुधबार) भएको खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौँ गोर्खाजलाई जितका लागि १४८ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय रंगशालामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिमले निर्धारित २० ओभरको समाप्तिमा सबै विकेट गुमाउँदै १४७ रनको योगफल बनाएको हो।
सुदूपश्चिमका लागि हर्मित सिंहले सर्वाधिक ५३ रनको योगदान दिए। उनले २० बलमै २ चौका र ६ छक्काको सहयोगमा अर्धशतक बनाए।
त्यसैगरी कप्तान दीपेन्द्रसिंह ऐरीले ३० बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ३९ रन बनाए। आसिफ शेखले २५ रन जोडे भने इसान पाण्डेले ११ रन जोड्दै आउट भए।
बलिङतर्फ काठमाडौँका करण केसीले सर्वाधिक ४ विकेट लिँदा सन्नी पटेल, मिलिन्दकुमार र रासिद खानले समान दुई/दुई विकेट लिए। काठमाडौँ अहिले जवाफी ब्याटिङमा छ।
यसअघि भएको पहिलो खेलमा काठमाडौँले जनकपुर बोल्ट्सलाई पाँच विकेटले हराएको थियो। यता पहिलो संस्करणको उपविजेतासमेत रहेको सुदूरपश्चिमको भने यो पहिलो खेल हो।