काठमाडौँ
००:००:००
२ पुष २०८२, बुधबार

ग्वलः देको मौलिकता फिर्ता गराउँदै छौँ, दुई करोडमा द्यः छेँ पुननिर्माण गराएका हौँ : वडाध्यक्ष संगत

५ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। काठमाडौँको ग्वलः दे (ग्वल देश) को नवाली टोलमा पुनर्निर्माण भइरहेको लिच्छविकालीन ‘नासः द्यः छेँ’ (नित्यनाथ समन्दिर) मा नित्यनाथको निराकार प्रस्तर मूर्ति पुनःस्थापना गरिएको छ।

निर्माणाधीन मन्दिरमा बिहीबार एक विशेष समारोहबीच विधिपूर्वक पूजाआजा गरी मूर्तिलाई आसनमा पुनःस्थापना गरिएको हो। नित्यनाथको पूजाआजा र आराधनाका लागि बिहीबार विशेष दिन मानिन्छ। त्यसैले मन्दिर शिलान्यास कार्य पनि ८ फागुन २०८१ मा बिहीबारकै दिन गरिएको थियो।

मूर्ति स्थापना गर्दै महानगरपालिकाको सम्पदा तथा पर्यटन समिति संयोजक एवं वडा नम्बर ८ का अध्यक्ष आशामान संगतले, यसअघि मूर्तिको सट्टा प्रतिआकृति मात्र पूजा गर्ने गरिएको जानकारी दिए। त्यस प्रतिआकृति भित्र पारेर अहिले आसनमाथि करिब तीन फिट अग्लो निराकार प्रस्तर मूर्ति राखिएको हो। उनका अनुसार मन्दिर पुनर्निर्माण सकिएपछि मूर्तिको प्राण प्रतिष्ठा गरिनेछ।

निर्माणाधीन मन्दिरका हरेक तला ८१३.०६ वर्गफिटका हुनेछन्।

९० सालको भूकम्पअघि नै जीर्ण अवस्थामा रहेको मन्दिर २०३९ सालमा तत्कालीन वडाध्यक्ष दिवंगत सुवर्ण वैद्यका पालामा ढलान गरेर पुनर्निर्माण गरिएको थियो। त्यसमा तला थप गरेर तल्लो तलामा सन्ध्या पुस्तकालय सञ्चालन गरिएको थियो। माथिल्लो तलामा पूजाआजा र परम्परागत बाजागाजा सिकाउने गरिन्थ्यो। संरचनाको पूर्वअवस्थाका विषयमा जानकारी दिँदै संगतले भने, “सांस्कृतिक सहरको पहिचान कायम गराउन नेपाली परम्परागत शैलीमा मन्दिरको पुनर्निर्माण गरिरहेका छौँ। मन्दिर बन्नु भनेको संरचना थपिनु मात्र होइन, यसले स्थानीय जनजीवनसँग जोडिएका सामाजिक तथा सांस्कृतिक चालचलनलाई पनि जोड्नु हो।”

स्थानीय संस्कृतिका जानकार राजेश संगतका अनुसार नेवार समुदायमा परम्परागत बाजा, गायन तथा नृत्य विधाको शिक्षा आरम्भ गर्नुअघि नित्यनाथ (नासः द्यः) को पूजा गर्ने प्रचलन रहिआएको छ। उनले भने, “नित्यनाथको पूजाका लागि बिहीबारलाई विशेष र शुभ दिन मानिन्छ।”

मन्दिरको पुनर्निर्माण गर्दा पुरातात्त्विक महत्त्वलाई ध्यानमा राखिएको छ। करबाहेक पुनर्निर्माण लागत करिब दुई करोड २७ लाख रुपैयाँ हो।

तीनतले मन्दिरको पहिलो तलामा पुस्तकालय हुनेछ। दोस्रो तलालाई सामाजिक कार्य, बाजागाजा प्रशिक्षण तथा भोजका लागि उपयोगमा ल्याइनेछ। तेस्रो तला अर्थात् बुइँगलमा नित्यनाथको मन्दिर स्थल रहनेछ।