काठमाडौँ
००:००:००
३ पुष २०८२, बिहीबार

ढिलासुस्तीको परिणाम

तराई/मधेसको लाइफ लाइनका रूपमा रहेको हुलाकी राजमार्गमा पर्ने सिरहा-धनुषा जोड्ने कमला नदीमा निर्माणाधीन पुल नबन्दा सर्वसाधारणले सास्ती बेहोर्नुपरेको छ।

५ मंसिर २०८२
अ+
अ-

सिरहा। भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीमा निर्माणाधीन पुलको स्थलगत अनुगमन गरेका छन्।

मन्त्री घिसिङ, युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक विजय जैशीलगायत सम्मिलित टोलीले शुक्रबार कमला पुलको अनुगमन गरेको हो।

ठेक्का सम्झौता भएको करिब १४ वर्ष पुग्दासमेत पुल निर्माण हुन नसकेको, पुल नबन्दा नागरिकले सास्ती खेप्नुपरेको, सवारीसाधन लामो रुट प्रयोग गरी आवत-जावत गर्न बाध्यभएको जस्ता गुनासो आएपछि मन्त्री घिसिङले समस्या समाधानका लागि पुलको निर्माणको अनुगमन गरेका हुन्।

तराई/मधेसको लाइफ लाइनका रूपमा रहेको हुलाकी राजमार्गमा पर्ने कमला पुल निर्माणका लागि २०६८ को जेठमा २४ करोड ९१ लाख (भ्याटसहित) मा पप्पु लुम्बिनी जेभीसँग ठेक्का सम्झौता सम्झौता भएको थियो। सुरुको सम्झौताबमोजिम पुल निर्माण २०७१ को मंसिरमा सम्पन्न हुनुपर्ने थियो। तोकिएको समयमा पुल निर्माण हुन नसकेपछि आठौंपटक थपिएको ठेक्का सम्झौताको म्याद गत असारमा सकिएको थियो। निर्माण व्यवसायीबाट आगामी असारसम्मका लागि म्याद थपका लागि प्रस्ताव पेस भएको छ। हाल ठेक्काको म्याद थपको प्रक्रियामा छ।

पुल निर्माणसँगै नदीको दुवै किनारतर्फ १३०० मिटर नदी नियन्त्रण र २०० मिटर पहुँच सडक निर्माण गर्नुपर्नेछ।

पुल निर्माणमा भइरहेको ढिलाइका सम्बन्धमा मन्त्री घिसिङले ‘यो पुल समग्र मधेसको विकासका लागि अत्यन्तै महत्त्वपूर्ण रहेकाले तीव्र गतिमा निर्माण कार्य अगाडि बढाइने प्रतिबद्धता जनाए। उनले यो पुल बन्छ, हामी बनाउँछौ भन्दै विगतमा पुल निर्माणमा भएका अनियमितताको सम्बन्धमा सम्बन्धित निकायले छानबिन गरिरहेकामा दोषी देखिएकालाई कानुनबमोजिम कारबाही गरिने आश्वासन पनि दिए। पुल निर्माण चाँडो सक्न स्थानीयको माग छ। अनुगमनकै क्रममा मन्त्री घिसिङ वारि धनुषाबाट डुंगा चढेर पारि सिरहा पुगेका थिए। जहाँ युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तासँग भेट गरी संयुक्त रुपमा पुल निर्माणको निरीक्षण गरे।

हालसम्म २० करोड ४३ लाख (भ्याट) सहित भुक्तानी भइसकेको छ। पुल निर्माणको भौतिक प्रगति र वित्तीय प्रगति क्रमशः ८३ र ८२ प्रतिशत छ। १२ वटा स्पान भएको पुलको लम्बाइ ४६९ मिटर छ। निर्माण व्यवयासीले नै पुलको डिजाइन गरी निर्माण गर्ने मोडलमा ठेक्का सम्झौता भएको थियो। पुल निर्माणसँगै नदीको दुवै किनारतर्फ १३०० मिटर नदी नियन्त्रण र २०० मिटर पहुँच सडक निर्माण गर्नुपर्नेछ।

१७ असार २०७८मा कमला नदीमा आएको बाढीले पुलको दुईवटा जग भासिएर चारवटा स्ल्याबमा क्षति पुगेको थियो। क्षति पुगेका स्ल्याबमध्ये दुईवटा हटाइएको छ भने दुईवटा हटाउन बाँकी छन्। विज्ञबाट उक्त क्षेत्रको माटो परीक्षण गरी परिमार्जित डिजाइन तयार गरी स्वीकृत गरिएको छ। चारवटा स्ल्याबमध्ये सिरहापट्टिको दुईवटा हटाउने तथा एउटाको पायरको पायल क्याप र अर्कोको पायरको दुई मिटर स्टिम ढलान भई बाँकी दुईवटा स्पानलाई दह्रो बनाउने काम बाँकी छ। स्वीकृत परिमार्जित डिजाइनबमोजिम पुल निर्माण तथा पुन:स्थापना आगामी असारभित्र सम्पन्न गरी यातायात सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ।